नागरिकता नपाएर आत्महत्या प्रकरणमा छानविन गर्न समिति गठन
गृहमन्त्री ओमप्रकाश अर्यालले आत्महत्याको घटनाका बिषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै आइतबार समिति गठन गरेका हुन्। पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहनेगरी घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको छ।
काठमाडौं, मंसिर २१ : गृह मन्त्रायलले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको एक घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ।
गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालले आत्महत्याको घटनाका बिषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै आइतबार समिति गठन गरेका हुन्। पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहनेगरी घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको छ।
छानविनका लागि गठित पन्थी समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्नेगरी समितिलाई आदेश दिइएको छ । घटनाबारे चासो राख्दै सत्यतथ्य बुझ्न प्रधानमन्त्री सुशीला कार्कीले पनि गृहमन्त्री अर्याललाई निर्देशन दिएकी थिइन्।
के थियो घटना ?
बर्दियाको बढैयाताल–४ की २२ बर्सिया अन्जु थारुले अनेक प्रयासका बाबजुत पनि नागरिकता बनाउन नसकेपछि कात्तिक २२ गते आत्महत्या गरेको समाचार बाहिरिएको थियो।
अंश पाउनेगरी अदालतबाट फैसला भए पनि नागरिकता नभएका कारण उनले श्रीमानबाट पाएको अंश आफ्नो नाममा ल्याउन सकेकी थिइनन् । नागरिकता नभएका कारण उनको छोरीको जन्मदर्ता समेत रोकिएको थियो । जस्ले गर्दा अंश दिने न्यायिक प्रक्रिया अवरुद्ध भयो।
अदालतबाट अंश दिलाउन आदेश भएको थियो । वडा कार्यालयले भने नागरिकताको सिफारिस गर्न अस्विकार गर्यो । आमाको नामबाट सन्तानको जन्मदर्ता हुनसक्ने कानुनी व्यवस्था भए पनि उनले आफ्नै नावालक छोरीको जन्म दर्ता गर्न पाइनन्। वडा कार्यालयले बुबाको नागरिकता चाहिन्छ भन्दै जन्मदर्ता अड्काएको बताइएको छ।
माइतीको वतनमा नागरिकता बनाउन खोज्दा यता जिल्ला प्रशासन कार्यालय पनिबाधक बन्यो । स्थानीय तह र प्रशासनबाटै नागरिकता प्राप्तिमा असहयोग भएपछि अञ्जु थारुले माइतीमै आत्महत्या गर्न बाध्य भएकी थिइन्।
छोरीले आत्महत्या गरेको छोरीको मृत्युको शोकमा रहेका ६१ वर्षीय बाबु कान्छा थारुले पनि आत्महत्या गरेका थिए। छोरी अन्जुको आत्महत्याको चार दिनमै कान्छा थारुले आत्महत्या गरेका थिए। यही बिषयमा घटनाको सत्यतथ्य पत्ता लगाउन भनेर गृहको छानविन समिति बनेको हो।












