Kathmandu Press

आयोगद्वारा चुनावी तयारी तिव्र, समानुपातिक निर्वाचनको कार्यक्रम आजदेखि 

आयोगले बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ।
आयोगद्वारा चुनावी तयारी तिव्र, समानुपातिक निर्वाचनको कार्यक्रम आजदेखि 

काठमाडौं, मंसिर २१ : प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले तयारी तीव्र पारेको छ।

सरकारले प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी तय भइसकेको छ। निर्वाचन तयारीस्वरुप आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम शुरु गरेको छ। 

आयोगले बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ। आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची मङ्सिर २४ गते प्रकाशित हुने छ। 

आयोगमा आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ। 

आगामी माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने कानुनी प्रावधान छ।

यता, प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम भने आगामी माघ ६ गतेबाट शुरु हुने छ । त्यसदिन  उम्मेदवारको मनोनयनपत्र दर्ता हुने र सोही दिनमा  नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम छ । उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ । आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ। 

यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान पनि माघ ९ गते नै प्रदान गरिनेछ।

प्रकाशित मिति: १५:३८ बजे, आइतबार, मंसिर २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्