भ्रष्टाचार प्रकरणमा पक्राउ परेका अधिकारी र भण्डारीलाई हिरासत पठाइयो
भ्रष्टाचार मुद्दा दर्ता भए पनि आज समय अभावका कारण विशेष अदालतको आदेश अनुसार उनीहरूलाई अख्तियारको हिरासतमा राखिने छ।
काठमाडौं, मंसिर १७ : नलिञ्चोक हेलिप्याड निर्माण भ्रष्टाचार प्रकरणमा पक्राउ परेका नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारीलाई दुई दिन हिरासतमै राखिने भएको छ।
बुधबार उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको थियो । भ्रष्टाचार मुद्दा दर्ता भए पनि आज समय अभावका कारण विशेष अदालतको आदेश अनुसार उनीहरूलाई अख्तियारको हिरासतमा राखिने छ।
अदालतमा आउने शुक्रबार मात्रै उनीहरूको बयान र थुनछेक बहस हुनेछ । ढिलोगरी अभियोगपत्र दर्ता भएका कारण बयान तथा थुनछेक वहमा समय अपुग भएको हो । अभियोगपत्रसँगै महानिर्देशक अधिकारी र निर्देशक भण्डारीलाई आरोपपत्रसहित अदालतमा हाजिर गराइएको थियो।
अख्तियारले अधिकारीसहित ७ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीहरुमाथि १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई आजै पक्राउ गरी अभियोगपत्रसँगै अदालतमा हाजिर गराएको थियो। अन्य ५ जनालाई भने फरार जनाइएको छ।
अधिकारी र भण्डारीसँगै क्यानका कर्मचारीहरू उप–प्रबन्ध निर्देशक सम्वृति श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सलटिङ प्रालि र त्यसका सञ्चालक विजय थापालाई प्रतिवादी कायम गरिएको छ।
अख्तियारको तारेख बुझ्न बुधबार अख्तियार पुगेका अधिकारी र भण्डारीलाई पक्राउ गरेर अभियोग पत्रका साथ विशेष अदालतमा लगिएको हो।












