Kathmandu Press

देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल

अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले समाज र राज्य दुवैले अपाङ्गता भएका व्यक्तिहरूप्रति देखाउनुपर्ने संवेदनशीलता पर्याप्त रूपमा विकास नभएको उल्लेख गरेका हुन्।
देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल

काठमाडौं, मंसिर १७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका अपाङ्गता भएका व्यक्तिहरू अझै पनि सेवासुविधाबाट वञ्चित रहेको बताएका छन्। 

अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले समाज र राज्य दुवैले अपाङ्गता भएका व्यक्तिहरूप्रति देखाउनुपर्ने संवेदनशीलता पर्याप्त रूपमा विकास नभएको उल्लेख गरेका हुन्।

‘हामी हरेक व्यक्तिहरू चिन्तित हुन्छौं, खुसी हुन्छौं, सुख–दुःख भोग्छौं । तर जब हामी अपाङ्गता भएका व्यक्तिहरूलाई भेट्छौं, तब जीवनको असली परिभाषा तपाईंहरूभित्र देख्छौं। विभेद अन्त्यका अनेक प्रयास भए पनि अपाङ्गता भएका व्यक्तिमाथिको विभेद अझै समाप्त भएको छैन,’ उनले भने।

सरकारी तथ्याङ्कलाई आधार मान्दा देशभर करिब साँढे ६ लाख अपाङ्गता भएका व्यक्तिहरू रहेको उल्लेख गर्दै उनले तीमध्ये झण्डै डेढ लाख गम्भीर अवस्थामा रहेको बताए। 
‘गम्भीर अपाङ्गता भएकामध्ये धेरैको जीवन विछ्यौनामै बितिरहेको छ। उनीहरूको जीवनमा राज्य र समाजले कति ध्यान दिएको छ भन्ने प्रश्न उठेको छ,’ उनले भने।

प्रदेशदेखि स्थानीय तहसम्म आवश्यक सेवा प्राप्त गर्न कठिनाइ अत्यधिक रहेको उल्लेख गर्दै मन्त्री खरेलले ह्वीलचेयरजस्ता आधारभूत सहायक सामाग्रीसमेत सहज र निःशुल्क रूपमा उपलब्ध हुन नसकेको तथ्य उजागर गरे।

‘दार्चुला, बैतडी, सोलुखुम्बु, रौतहट वा सातै प्रदेशका कुनै पनि ठाउँमा रहेको शारीरिक अपाङ्गता भएका व्यक्तिले के उनी आफ्नो जिल्लामै सहज र निःशुल्क रूपमा ह्वीलचेयर पाउँछन् त? यो अझै सुनिश्चित छैन,’ मन्त्री खरेलले भने।

मन्त्री खरेलले विभेद अन्त्य र पहुँचयोग्य सेवा सुनिश्चितताका लागि तीनै तहका सरकार तथा समाज सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए। 
 
प्रकाशित मिति: १३:०५ बजे, बुधबार, मंसिर १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्