Kathmandu Press

तत्कालिन प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आ.व.२०७५/७६ देखि २०७८/७९ सम्म स्वास्थ्य कार्यक्रमका लागि लिइएका विभिन्न शीर्षकका पेस्की रकममध्ये कुल ४६ लाख ७ हजार ३ सय रुपियाँ बेरुजु देखिएको ठहर अख्तियारको छ। 
तत्कालिन प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, मंसिर १४ : कपिलवस्तुको मायादेवी गाउँपालिकामा कार्यरत तत्कालिन प्रशासकीय अधिकृतसहितका पदाधिकारीहरूबाट पेस्की रकम हिनामिना गरेको ठहरसहित आइतबार सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

वर्षौंसम्म पेश्की फछ्र्यौट नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा अनुसन्धानपछि भ्रष्टाचार मुद्दा चलाइएको हो। आ.व.२०७५/७६ देखि २०७८/७९ सम्म स्वास्थ्य कार्यक्रमका लागि लिइएका विभिन्न शीर्षकका पेस्की रकममध्ये कुल ४६ लाख ७ हजार ३ सय रुपियाँ बेरुजु देखिएको ठहर अख्तियारको छ। 

रकम हिनामिनामा प्रत्यक्ष संलग्न भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, लेखापाल, लेखा सहायकलगायत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ। 

Hardik ivf

अनुसन्धानका क्रममा अधिकृत छैटौँ महेन्द्रप्रसाद यादवसहित सम्बन्धित पदाधिकारीहरूले पेस्की लिएर अवधि बितिसक्दा पनि मागअनुरूप बिल–भरपाई र कागजात पेस गर्न नसकेको खुल्न आएको छ। 

आवश्यक कार्यसमेत नगरी पेस्की माथि पेस्की लिँदै सार्वजनिक रकम दुरुपयोग गरेको अख्तयारले जनाएको छ । आव २०७५÷७६ मा स्वास्थ्य कार्यक्रमका लागि लिइएको २२ लाख ६२ हजार तीन सय मध्ये रु २० लाख १७ हजार तीन सय बेरुजु कायमभएको छ। 

यस्तै, आब २०७७÷७८ मा लिइएको रु १० लाख रुपैयाँ पनि हालसम्म फछ्र्यौट नभएको पाइएको छ । आब २०७८÷७९ मा लिइएको रु १५ लाख ९५ हजार मध्ये रु १५ लाख ९० हजार बेरुजु भेटिएको छ । आयोगले आपसी मिलेमतोमा भ्रष्टाचार भएको दाबी अदालत समक्ष गरेको छ। 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सरकारी रकम हिनामिना, फस्र्यौट तथा सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पु¥याएको निचोडमा अख्तियार पुगेको छ । सबै प्रतिवादीविरुद्ध बिगो बराबर जरिवाना, कैद सजाय र सरकारी रकम असुल उपर गर्न आयोगको मागदाबी छ। 

भ्रष्टाचारमा कस्को भागमा कति विगो? 

मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालका नाममा २० लाख १७ हजार तीनसय विगो कायम गरिएको छ । अर्का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवसँग १५ लाख ९० हजार विगो मागदाबी गरिएको छ। 

तत्कालीन प्रमुख प्रशासकीय कृष्ण प्रसाद तिमिल्सिनासँग १० लाख विगो मागदाबी छ भने लेखा अधिकृत प्रकाश गौतमसँग १५ लाख ६० जार विगो असुल गर्न माग गरिएको छ । यस्तै, सि.अ.हे.व. (अधिकृत छैटौँ) महेन्द्र प्रसाद यादवसँग ४६ लाख ७ हजार तीन सय र तत्कालीन लेखापाल तुल्सीराम पौडेलसँग १९ लाख १७ हजार तीन सय विगो भराउन माग छ। 

अर्का लेखा सहायक पाँचौँ गिरीराज गौतमसँग १४ लाख १० हजार रुपैयाँ विगो असुल गर्न अदालत समक्ष माग गरिएको छ । अख्तियारका अनुसार विगतका वर्षहरूमा स्वीकृत कार्यक्रमहरू कार्यान्वयन नै नगरी पेस्की रकम हिनामिनामा पारेको पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ। 

प्रकाशित मिति: १९:३७ बजे, आइतबार, मंसिर १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्