बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको फैसला
अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीका अनुसार हसिनाको मुद्दा हेर्न बनाइएको विशेष न्यायाधीकरणले सोमबार मानवता विरूद्धको अपराध कसुरमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो।
काठमाडौं, मंसिर १ : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीका अनुसार हसिनाको मुद्दा हेर्न बनाइएको विशेष न्यायाधीकरणले सोमबार मानवता विरूद्धको अपराध कसुरमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो। हसिनाविरुद्ध गत वर्ष विद्यार्थी नेतृत्वमा भएको विद्रोहमाथि उनले घातक दमनकारी कारबाही गर्न आदेश दिएको अभियोग थियो।
हसिनामाथि मानवता विरुद्धको अपराधमा ५ वटा आरोपहरू लगाइएका थिए। हसिनाको फैसलालाई लिएर देशभर हिंसा भड्कीएको छ। फैसलापछि सरकारले उच्च सतर्कता (हाई अलर्ट) को घोषणा गरेको छ।
हिंसा अझ बढ्ने आशंकालाई ध्यानमा राख्दै देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ। पूर्वगृहमन्त्री असदुज्जामान खान कमाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्ला अल–मामुन पनि सह–आरोपीका रूपमा मुद्दामा तानिएका छन्।
७८ वर्षीया हसिनाले गत वर्ष साउन २ मा सत्ताबाट हटाइएपछि भारतबाट फर्केर अदालतमा उपस्थित हुन दिएको आदेश उल्लङ्घन गरेको आरोप समेत छ । दोषी ठहरिएमा उनीहरूको सम्पत्ति जफत गरी पीडित परिवारलाई वितरण गर्न अभियोगपत्रमा माग गरिएको थियो।
हसिनाविरुद्ध हत्या, हत्या प्रयास, यातना जबरजस्ती बेपत्ता पारिएको र सन् २०१३ मा मोतीझीलको शापला चत्तरमा भएको दाबी गरिएको सामूहिक हत्यासम्बन्धी अभियोग थियो। गत वर्षको आन्दोलनपछि हसिनाविरुद्ध मानवताविरुद्धको अपराधको उजुरी दर्ता भएको थियो।
गत वर्ष जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोह क्रममा भएका व्यापक हिंसात्मक घटनामा हसिनाको संलग्नता रहेको ठहर गर्दै न्यायाधीकरणले मृत्युदण्डको फैसला गरेको हो। भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमै उनीविरुद्ध मुद्दा चलाइएको थियो।
विद्रोहका दिनहरूमा देशभरि भएका विस्तृत हिंसात्मक घटनामा हसिनाको भूमिका रहेको अभियोजन दाबी थियो । गत वर्ष जुलाई–अगस्टको आन्दोलनमा १४ सय जनाको हत्या र २५ हजारजति घाइते भएको दाबी अभियोजक ताजुल इस्लामले न्यायाधीकरणमा पेस गरेका थिए । मृतकहरूको सूचीसमेत अदालतमा बुझाइएको थियो।












-1763799581.jpg)