निर्वाचनमा जेनजी समूहलाई समेट्न लोकतान्त्रिक होटल व्यवसायी संघकाे आग्रह
संघले देशमा विद्यमान राजनीतिक अस्थिरता सिर्जना भएकाे र यसैबिच परिवर्तनको प्रखर आवाज आइरहेकाले सुशासन र पारदर्शिताका लागि समयमा र विधानत महाधिवेशन गर्नुपर्ने, नयाँ नेतृत्त्व र नयाँ अजेन्डा अघि सार्नुपर्ने बताएकाे छ।
काठमाडाैं, कात्तिक २० : नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघले २१ फागुनमा हुन लागेकाे निर्वाचनमा जेनजी समूहकाे नेतृत्वलाई समेट्न आग्रह गरेकाे छ।
संघले बिहीबार विज्ञप्ति जारी गर्दै निर्वाचनमा ३२ प्रतिशत जेनजी समूह सहभागी हुने भएकाले साे उमेर समूहकाे नेतृत्व समेट्ने गरी नेपाली कांग्रेसले नयाँ नीति र नयाँ नेतृत्वसहित निर्वाचनमा भाग लिनुपर्ने निष्कर्ष निकालेकाे हाे।
‘जेनजी उमेर समूहलाईसमेत समेट्ने गरी नयाँ नीति र नयाँ नेतृत्त्वसहित नेपाली कांग्रेस पार्टीले निर्वाचनमा भाग लिनुपर्छ,’ संघका केन्द्रीय अध्यक्ष लीलाप्रसाद ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ । संघले केन्द्रीय कार्यसमिति तथा जिल्ला समितिका अध्यक्षहरूको भेलामा उनीहरूले नेपालको इतिहासमै हरेक आन्दोलन र परिवर्तनको मियो बनेकाे नेपाली कांग्रेसको वर्तमान अवस्था अत्यन्तै कमजोर देखिएको बताएका थिए । ‘जेनजी समूहलाई समेट्न नसक्दा गत भदाै २३ र २४ मा भएकाे आन्दाेलनलमा हाेटल व्यवसायीले ठूलाे क्षति बेहाेर्नुपरेकाे छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘आगामी निर्वाचनमा यो उमेर समूहबाट धेरैले मतदान गर्दै हुनुहुन्छ तसर्थ याे उमेर समूहलाई समेट्न सकेमात्र पार्टीकाे भविष्य राम्राे देखिन्छ।’
संघले देशमा विद्यमान राजनीतिक अस्थिरता सिर्जना भएकाे र यसैबिच परिवर्तनको प्रखर आवाज आइरहेकाले सुशासन र पारदर्शिताका लागि समयमा र विधानत महाधिवेशन गर्नुपर्ने, नयाँ नेतृत्त्व र नयाँ अजेन्डा अघि सार्नुपर्ने बताएकाे छ।
‘सुशासन र पारदर्शिताको प्रत्याभूति दिन नसक्दा गत भदाैमा आम मानिसको ठूलो विद्रोह भई धेरै धन-जनको क्षति पुगेको सर्वविदितै छ,’ खान, बस्न र मनोरञ्जन गर्ने उद्देश्यले सञ्चालित व्यवसायमा यति ठुलाे क्षति हुनु भनेकाे सबै उमेर समूहलाई पार्टीले समावेश नगर्नु नै हाे,’ विज्ञप्तिमा उल्लेख छ।
‘निर्वाचनअघिको महाधिवेशनले कांग्रेस सुध्रन्छ र निर्वाचनपछिको महाधिवेशनले कांग्रेस सकिन्छ या खिइन्छ भन्ने हाम्रो ठम्याइ छ । अन्य प्रतिस्पर्धी राजनीतिक पार्टीहरुले नयाँ पुस्तालाई समेट्ने योजनासहित महाधिवेशन घोषणा गरिसकेको सन्दर्भमा हाम्रो पार्टीलेचाहिँ किन सक्दैन ?’ संघले प्रश्न गरेकाे छ । पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेसकाे विधानमा व्यवस्था भएअनुसार महामन्त्री गगनकुमार थापाले पेस गरेको १५औँ महाधिवेशन हुन नसके ५४ प्रतिशत माहाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरअनुरुप महाधिवेशन गर्नुपर्ने भन्दै संघले पार्टी पंक्तिलाई दबाब दिएकाे छ।












