प्रहरीको मनोबल खस्कने क्रियाकलापमा गम्भीर बन्न सरकारलाई बारको आग्रह
बारले देश जतिसुकै कठिन मोडमा रहँदा समेत कानूनको शासनको आधारभूत मानकलाई वेवास्ता गर्न नमिल्ने स्मरण पनि बारले गराएको छ।
काठमाडौं, असोज २१ : नेपाल बारएशोसियसनले नेपाल प्रहरीको मनोबल खस्कने गरी भएका क्रियाकलापहरूमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ।
बारकातर्फबाट महासचिव केदार प्रसाद कोइरालाले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन्। विज्ञप्तिमा संवाद र सहकार्यको माध्यमबाट अघि बढ्न पनि सरकारलाई सुझाव दिइएको छ।
नेपाल बारको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकाय खास गरी नेपाल प्रहरीको मनोबल खस्कने गरी भएका हर्कतहरुप्रति सरकार गम्भीर हुनु पर्दछ। आवेश, आक्रोस र अराजकताले हत्या, हिंसा र प्रतिहिंसाको दुश्चक निम्त्याउँछ। हामी दिगो शान्तिको पक्षमा छौं। दिगो शान्ति सम्बाद र सहकार्यबाट मात्र सम्भव छ। तसर्थ व्यापक सम्वाद गर्न नेपाल सरकार समक्ष हामी अनुरोध गर्दछौं।’
बारले देश जतिसुकै कठिन मोडमा रहँदा समेत कानूनको शासनको आधारभूत मानकलाई वेवास्ता गर्न नमिल्ने स्मरण पनि बारले गराएको छ।
यसैगरी सर्वोच्च अदालत लगायतका सम्पूर्ण अदालतहरूका काम, कारबाहीहरू अविलम्व नियमित रुपमा सुचारु गर्न पनि बारले माग गरेको छ। विज्ञप्तिमा बारको भवन निर्माण गर्न सर्वोच्च अदालत परिसरभित्रै जग्गा उपलब्ध गराउन समेत अनुरोध गरिएको छ।
जेनजी– आन्दोलन र भदौ २४ गते भएको तोडफोड आगजनी, लुटपाट समेतको घटनाउपर छानविन गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको धारणालाई लिएर समेत बारले आपत्ति जनाएको छ।
आयोगका अध्यक्षको पूर्व धारणाले निष्पक्षतामा आँच आउन नसक्ने कुराको विश्वसनीय प्रत्याभूति सार्वजनिक नभएको र यस्तो गम्भीर घटनालाई छानविन गर्न नेपाल सरकारले औपचारिकता मात्र निर्वाह गर्न खोजी विषयवस्तुलाई हल्का रुपमा लिएको आम धारणा बनिरहेको भन्दै विज्ञप्तिमा सजग समेत गराइएको छ। ‘यसवाट आयोगको प्रतिवेदनले समेत विश्वसनीयता गुमाउने हुन्छ,’ बारले विज्ञप्तिमा भनेको छ।










![पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/coer-1771128930.jpg)

