Kathmandu Press

रोशी खोलाले बगाएको बिपी राजमार्ग पुनः निर्माण सुरु

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट डाइभर्सन निर्माण सुरु गरिएको हो ।
रोशी खोलाले बगाएको बिपी राजमार्ग पुनः निर्माण सुरु

काभ्रे, असोज २१ : असोज १८ र १९ गतेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्गको डाइभर्सन पुनः निर्माण कार्य सुरु गरिएको छ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट डाइभर्सन निर्माण सुरु गरिएको हो । खोलाको बहाव केही कम भएपछि सोमबारदेखि काम अघि बढाइएको उनले जानकारी दिए।

सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीका अनुसार स्थानीय तहहरू रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा डाइभर्सन पुनः निर्माण अघि बढाइएको छ । ‘चौकीडाँडाको एउटै स्थान मात्र नभई ३–४ स्थानमा वैकल्पिक डाइभर्सन बनाउन योजना बनाइएको छ,’ अधिकारीले बताइन्।

Hardik ivf

उनका अनुसार पानीको धार अहिले पनि भित्तासम्म टाँसिएको छ र सडक खोलाको किनारै किनार लैजानुपर्ने भएकाले निर्माण कार्य चुनौतीपूर्ण रहेको छ । उनले स्थानीय, प्रहरी र निर्माण व्यवसायीहरूको सहयोगमा काम तीव्र पारिएको बताइन्।

यसअघि सरोकारवाला निकायबिच बिपी राजमार्ग चाँडोभन्दा चाँडो सञ्चालन गर्ने सहमति भएको थियो। 

यता, सिन्धुलीको नेपालथोक पट्टी पनि सडक डिभिजन कार्यालय खाल्टे मार्फत सोमबारदेखि डाइभर्सन निर्माण सुरु गरेको छ । उक्त खण्डमा समेत बाढीले सडक कटान गरेपछि वैकल्पिक बाटो खोल्ने प्रयास भइरहेको छ।

गत वर्ष असोजमा आएको बाढीले बगाएको ठाउँलाई अस्थायी रूपमा मर्मत गरी सञ्चालन गरिएको थियो । तर, यस वर्ष फेरि सोही भागमा बाढीले सडक बगाएपछि अहिले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।

सडक विभागका अनुसार निर्माण कार्य पूरा गर्न मौसममा सुधार भएमा कम्तीमा एक हप्ता लाग्ने अनुमान गरिएको छ । त्यसपछि मात्र मात्र बिपी मार्गबाट काठमाडौँ आवागमन पुनः सहज हुने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: १०:५० बजे, मंगलबार, असोज २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्