Kathmandu Press

सर्लाहीका १६ सय भन्दा बढी घर बाढीको डुबानमा

बागमती र लखनदेही खोलामा आएको बाढीले मात्र १,६१९ घर प्रभावित भएका छन्। बागमती नदीको बाढीले बलरा नगरपालिका ३ लक्ष्मीपुरका ७ सय घर, वडा नं. १ छन्की टोलका ५० घर र वडा नं. ५ का करिब १ सय ५० घरमा पानी पसेको छ।
सर्लाहीका १६ सय भन्दा बढी घर बाढीको डुबानमा

सर्लाही, असोज २० : दुई दिनदेखि निरन्तर परेको अविरल वर्षाले सर्लाहीका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण १६ सय भन्दा बढी घरधुरी डुबानमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बागमती र लखनदेही खोलामा आएको बाढीले मात्र १,६१९ घर प्रभावित भएका छन्। बागमती नदीको बाढीले बलरा नगरपालिका ३ लक्ष्मीपुरका ७ सय घर, वडा नं. १ छन्की टोलका ५० घर र वडा नं. ५ का करिब १ सय ५० घरमा पानी पसेको छ।

Hardik ivf

लखनदेही खोलाको पानी पस्दा मलंगवा नगरपालिका– ५ भाडसरका करिब २ सय घर डुबानमा परेका छन्। त्यसैगरी कौडेना गाउँपालिका–७ शिवनगरमा ३ सय ५० देखि ४ सय घर प्रभावित भएको प्रहरीले जनाएको छ। चक्रघट्टा गाउँपालिका – ५ पडरियामा पनि बाढी पस्दा २० वटा माटोका कच्ची घर पूर्ण रूपमा भत्किएका छन्।

उता हरिवन नगरपालिका चिनीमिल क्षेत्रमा पानीको उचित निकास नहुँदा ४० घरमा बाढी पस्न पुगेको छ। बरहथवा नगरपालिका–७ डोमटोलमा सोती खोलाको पानी पस्दा करिब १५ घर डुबानमा परेका छन्।

यस्तै, कौडेना गाउँपालिका–३ र ५ मा लखनदेही खोलाको पानी पस्दा ४० घर डुबानमा परेका छन् भने कविलासी नगरपालिका–८ अगर्वामा झिम खोलाले १४ घर प्रभावित बनाएको छ। गोडैता नगरपालिकामा समेत कयौ घरमा पानि पसेको छ।

प्रहरीका अनुसार हालसम्म ठूलो जनधनको क्षति नभए पनि स्थानीयहरू सुरक्षित स्थानमा सारिएको र राहतको तयारी भइरहेको छ। कौडेना गाउँपालिका–३ स्थित लखनदेही खोलामा आएको बाढीले हुलाकी सडक बगाउँदा जिल्लाको पश्चिम क्षेत्र र सदरमुकाम मलंगवासँगको सम्बन्धविच्छेद भएको छ।

बाढीले राजमार्गको करिब १५० मिटर पक्की सडक बगाए पछि स्थानीयलाई सदरमुकामसम्म आउजाउ गर्न लामो वैकल्पिक मार्ग प्रयोग गर्नु पर्ने अवस्था आएको छ।

 

प्रकाशित मिति: १४:१५ बजे, सोमबार, असोज २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्