कांग्रेस सभापति देउवाको सन्देश- संविधानभित्रबाटै अहिलेको समस्याको समाधान खोजियोस्
सामाजिक सञ्जालमार्फत प्रेशित गरिएको शुभकामना सन्देशमा मुलुकको सर्वोच्च कानुन संविधानभित्रबाटै अहिलेको समस्याको समाधान खोज्न आग्रह गरेका छन्।
काठमाडौं, असोज १३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडादशैंको उपलक्षमा सोमबार शुभकामना सन्देश दिँदै जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरू नेपालको इतिहासमा अकल्पनिय र दुःखद घटना भएको बताएका छन्।
बडादशैंले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्ति बीचको एकतालाई अझै मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा समेत देउवाले व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रेशित गरिएको शुभकामना सन्देशमा मुलुकको सर्वोच्च कानुन संविधानभित्रबाटै अहिलेको समस्याको समाधान खोज्न आग्रह गरेका छन्।
‘संविधान मुलुकको सर्वोच्च कानुन भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्दछ । सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकांक्षाबमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिमार्फत बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताहरूको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित छ’, सन्देशमा कांग्रेस सभापति देउवाले भनेका छन्, ‘नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा हामी सबैको योगदान अनिवार्य छ । यो विषम परिस्थितिमा दुर्गा भवानीले हामी सबैलाई आत्मबल र बुद्ध शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।’
साथै, सन्देशमा भदौ २३ र २४ गते देशमा भएका मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख समेत व्यक्त गरिएको छ।
‘गत भाद्र २३ र २४ गते देशमा जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा कैयौँ युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाएका छन्। नेपाल आमाका ती वीर सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु। प्रदर्शनका क्रममा भएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, देउवाले भनेका छन्।
गत भदौ २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयहरूलगायत अन्य सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूको निजी घर, डेरा र सर्वसाधारण व्यक्तिका निजी सम्पत्तिसँगै नेपालको उन्नति र प्रगतिसँग जोडिएका सबै निजी तथा सार्वजनिक संरचनाहरूको तोडफोड, आगजनी र लुटपाटबाट खर्बौंको क्षति भएको स्मरण पनि देउवाको सन्देशमा गरिएको छ।
‘नेपालको इतिहासमा यो अत्यन्त अल्कपनीय र दुःखद घटनाको रूपमा रहेको छ,’ सन्देशमा भनिएको छ।










![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

![सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-4_5ac93181-1777097814.jpg)