मानवअधिकार संरक्षणका लागि विदामा पनि आयोग खुला

काठमाडौं, असोज १२ : दसैँ, तिहार तथा छठलगायतका सार्वजनिक बिदामा पनि राष्ट्रिय मानव अधिकार आयोग खुला रहने भएका छन् ।
सार्वजनिक बिदाको दिन बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म कायालय खुला रहने आयोगले जनाएको छ । उजुरी दर्ता लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न आयोग र आयोग अन्तर्गतका कार्यालय सञ्चालन हुने छन्।
आयोगका सहसचिव तथा प्रवक्ता डा.टीकाराम पोखरेलद्वारा जारी प्रेश विज्ञप्तिमा शान्ति सुरक्षालाई मजबुत बनाउन र सेवा प्रवाह सहज बनाउन सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरिएको छ ।
साथै, मानव अधिकार उल्लङ्घनका घटना भएमा नजिकको कार्यालयमा तत्काल जानकारी दिन आयोगले सर्वसाधारणलाई आग्रहसमेत गरेको छ ।
चाडपर्वका समयमा सार्वजनिक आवतजावतमा कठिनाइ, अपराधका घटना, महँगी र कालोबजारी बढ्ने सम्भावना रहने बताउँदै यस अवधिमा शान्ति–सुरक्षा र सेवा प्रवाहलाई चुस्त बनाउन सरकारले आवश्यक कदम चाल्न पनि आयोगले विज्ञप्तिमार्फत सुझाव दिएको छ ।












