माओवादी केन्द्र भंग, दाहालकै नेतृत्वमा मंसिरमा विशेष महाधिवेशन
अध्यक्ष दाहालले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका थिए। जसलाई केन्द्रीय समितिले पारित गरेको सापकोटाले बताए।
काठमाडौं, असोज १० : नेकपा माओवादी केन्द्र अब महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ। साथै आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ।
शुक्रबार शुक्रबार प्रज्ञा भवन कमलादीमा सकिएको बैठकले मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाका अनुसार केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेका अधिकांश प्रस्तावहरु स्वीकृत पनि भएका हुन्। अध्यक्ष दाहालको प्रतिवेदन परिमार्जन सहित पारित गरिएको हो।
सो क्रममा अध्यक्ष दाहालकै संयोजकत्वमा विशेष महाधिवेशन गर्ने निर्णय भएको सापकोटाले जानकारी दिए।
अध्यक्ष दाहालले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका थिए। जसलाई केन्द्रीय समितिले पारित गरेको सापकोटाले बताए।
‘जेनजी आन्दोलनलाई विकसित पारी यस स्थितीमा विशेष महाधिवेशन आयोजना गरिनेछ। केन्द्रीय समिति विगठन गरि आयोजक समिति बनाउने निर्णय भयो। अध्यक्षलगायत सबै पदाधिकारीहरुको व्यवस्था स्थगित गर्ने र महाधिवेशनमा जेनजी लगायत युवाहरुको अधिकतम सहभागिताको लागि वातावरण तयार पार्ने निर्णय भएको छ,’ सापकोटाले भने।
बैठकले पार्टीभित्रका नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले जेनजीलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गर्ने र युवाहरूलाई प्रथामिकता दिने निर्णय समेत गरेको छ।
आईटी कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने, अन्य प्रस्तावहरुलाई समेटेर अघि बढ्ने निर्णय पनि भएको छ।












