छोटो समयमै विगतमा भएका भ्रष्टाचारबारे प्रष्ट भयो : प्रधानमन्त्री कार्की
कार्कीले प्रतिनिधिसभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र योग्य जनप्रतिनिधिको चयनका लागि निर्वाचनमा सहभागी हुन सबैलाई आह्वान पनि गरेकी छन्।-1758805103.jpg)
काठमाडौं, असोज ९ : राष्ट्रको नाममा संवोधन गर्नेक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठन भएको छोटो समयमै विगतमा भएका भ्रष्टाचारबारे प्रष्ट जानकारी पाएको बताएकी छिन्।
राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा कार्कीबाट यस्तो भनाई आएको छ। उनले भ्रष्टाचारका विषयमा आवश्यक छानबिन गरी दोषीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने पनि बताइन्।
संवोधनकाक्रममा कार्कीले भनिन्, ‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ। यसको आवश्यक छानबिन गरी दोषीलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनेछ।’
यस्तै, कार्कीले प्रतिनिधिसभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र योग्य जनप्रतिनिधिको चयनका लागि निर्वाचनमा सहभागी हुन सबैलाई आह्वान पनि गरेकी छन्।
रोजगारीको सिलसिलामा देशबारिह रहेका नेपालीलाई विदेशबाट समेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा छलफल भइरहेको पनि संवोधनमा बताइन्।
कार्कीले भनिन्, ‘रोजगारीको सिलसिलामा देशबाहिर रहनुभएका नेपाली नागरिकलाई विदेशसमेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ।’
कार्कीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तीनका हकहितको संरक्षण एवं गैर आवासीय नेपाली नागरिकले उठाएका संविधानसम्मत मागप्रति वर्तमान सरकार सकारात्मक रहेको पनि बताइन्।












