घटस्थापनापछि एक लाख ३८ हजार यात्रुले काठमाडौं छाडे
‘मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घण्टौंसम्म सवारी साधन बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौंमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ,’ अध्यक्ष स्वाँरले भने।
काठमाडौं, असोज ९ : घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई सय ९६ यात्रुले काठमाडौं छाडेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना)का दिन ४० हजार ९ सय २३, असोज ७ गते ३९ हजार ८ सय १४ र असोज ८ गते ५७ हजार ५ सय ५९ यात्रुले काठमाडौँ छाडेका छन् ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दसैँ मनाउन घर जान थालेको जानकारी दिए। उनका अनुसार उक्त तथ्यांक थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट उक्त यात्रुहरु गन्तव्यस्थलमा गएकाहरुको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले पानी परेका कारण राजमार्गमा पहिरो जाँदा सवारी साधनलाई आवतजावतमा समस्या परेको बताए।
‘मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घण्टौंसम्म सवारी साधन बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौंमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ,’ अध्यक्ष स्वाँरले भने।
काठमाडौं गोँगबुस्थित नयाँ बसपार्कमासमेत दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ। नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले नयाँ बसपार्कबाट दैनिक ५ सय बस बाहिरिन थालेको बताए।
उनले अरु समयमा दैनिक औसतमा २ सय ५० बस बाहिरिए पनि अहिले उक्त सङ्ख्यामा वृद्धि भएको बताए। यात्रुको सहजताका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न संघ संस्थाको सहकार्यमा काठमाडौं उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।












