Kathmandu Press

नेपथ्यले दुबईमा कन्सर्ट दिने

काठमाडौं, फागुन २३ : देशको चर्चित सांगीतिक समूह नेपथ्यले संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबईमा फेरि कन्सर्ट गर्ने भएको छ । आगामी मार्च १५ गते शुक्र....

नेपथ्यले दुबईमा कन्सर्ट दिने
नेपालय

काठमाडौं, फागुन २३ : देशको चर्चित सांगीतिक समूह नेपथ्यले संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबईमा फेरि कन्सर्ट गर्ने भएको छ । आगामी मार्च १५ गते शुक्रबारको दिन त्यहाँस्थित अल नासर लेजर ल्याण्डमा कन्सर्ट आयोजना गरिने आयोजक नेपालयले जनाएको छ ।

नेपथ्यको दुबईमा यो दोश्रो कन्सर्ट हुनेछ । यसभन्दा पहिले मुलुकले कठिन परिस्थिती बेहोरिरहेको क्षणमा पूर्व निर्धारित कार्यक्रमको बाध्यताले नेपथ्य त्यहाँ पुग्नु परेको थियो । भुइँचालोलगत्तै तय रहेको सन् २०१५ मे २१ तारिखको दुबई कन्सर्टलाई ब्याण्डले ‘राष्ट्रिय सन्तापको संगीत’ का रुपमा लिएको थियो । त्यसैले उक्त कन्सर्टबाट उठेको रकम पनि ब्याण्डले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गरको थियो ।

Hardik ivf

‘आइस स्केटिङ खेलिने त्यसै मैदानमा प्रस्तुत हुनेगरि यसपटक हामी फेरि पुरै जोश र जाँगरका साथ दुबई आउँदै छौं,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘श्रोता दर्शकलाई नचाउने रमाइला गीतहरु यसपटक प्राथमिकतामा परेका छन् ।’

रेमिट्यान्सका माध्यमबाट मुलुकको अर्थतन्त्रमै महत्वपूर्ण योगदान दिने नेपाली तन्नेरीहरुका सामु ब्याण्डलाई पुरै क्षमतामा प्रस्तुत गर्ने धेरै पहिले देखिको आफ्नो योजना बल्ल पुरा हुन लागेकामा गुरुङ सन्तुष्टि ब्यक्त गर्छन् ।

‘यसअघिको कन्सर्ट शोकको क्षणमा आयोजित भए तापनि झण्डै दुई हजार दर्शकको उपस्थितिले हौस्याएको थियो,’ अमृत भन्छन्, ‘त्यतिबेलै हामीले नयाँ रेकर्डिङ भएको गीत ‘कोशीको पानी यो जिन्दगानी’को म्यूजिक भिडियो पनि त्यहीँ खिचेका थियौं ।’ दुबईको यसै स्थलमा कन्सर्टको बेला खिचिएको त्यो गीत नेपथ्यको आधिकारिक म्यूजिक भिडियोका रुपमा युट्युबमा उपलब्ध छ ।

‘नेपथ्य उसका श्रोता दर्शकहरुको मायाकै जगमा अडिएको छ,’ अमृत भन्छन्, ‘अघिल्लोपटक जाँदा पाइएको आत्मीयताले नै यसपाला दुबईलाई हामीले फेरि प्राथमिकतामा राखेका हौं ।’

दुबईमै बसोबास गर्दैआएका तन्नेरीहरुको जमातले आयोजना गरेको यो कन्सर्टमा टिकट दर भने स्थानीय मुद्रा अनुसार ५० र १०० दिराम राखिएको छ ।

कार्यक्रममा सँधैजस्तै दुबईमा पनि अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।

प्रकाशित मिति: ०२:१९ बजे, शुक्रबार, फागुन २४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्