अमेरिकी सरकार विरुद्ध हुवावेको मुद्दा
काठमाडौं, फागुन २३ : विश्वकै ठुलो प्रविधि कम्पनी हुवावेले आफ्ना उपकरणहरु नकिन्न अमेरिकाले संघीय निकायहरुलाई दिएको आदेश विरुद्ध टेक्सासको संघीय अ....

काठमाडौं, फागुन २३ : विश्वकै ठुलो प्रविधि कम्पनी हुवावेले आफ्ना उपकरणहरु नकिन्न अमेरिकाले संघीय निकायहरुलाई दिएको आदेश विरुद्ध टेक्सासको संघीय अदालतमा मुद्दा दायर गरेको छ ।
हुवावेका उपकरण अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा हुन सक्ने भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा उक्त कम्पनीका प्राविधिक उपकरण किन्न प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरेका थिए ।
‘यो प्रतिबन्ध गैरकानुनी त छ नै, यसले हुवावेलाई स्वच्छ प्रतिष्पर्धामा सहभागी हुन पनि दिंदैन । सबैभन्दा बढी यसले अमेरिकी उपभोक्ताहरुलाई असर पार्छ’ हुवावेका उपाध्यक्ष गुओ पिङले कम्पनीको मुख्यालय रहेको चिनियाँ सहर सेन्झेनमा आयोजित पत्रकार सम्मेलनमा भने । उनले अमेरिकी कांग्रेसले हुवावेको हकमा अन्याय गरेको पनि उनले बताए ।
चिनियाँ कम्पनी हुवावे विश्वकै सबैभन्दा धेरै स्मार्टफोन बनाउने कम्पनीहरुमा पनि पर्छ । हुवावेले उसका उपकरण खरिदमा लागेको प्रतिबन्धले सफाइ दिन नपाई दण्डित हुनुपरेको भन्दै यसले न्यायको सिद्धान्तलाई समेत नमानेको जनाएको छ ।
‘अमेरिकी कांग्रेसले हुवावेमाथि लगाएको प्रतिबन्धलाई जायज देखाउने गरी प्रमाण दिन सकेको छैन’हुवावेका उपाध्यक्ष गुओले भने, ‘त्यसैले अन्तिम उपाय स्वरुप यो कानुनी प्रक्रिया अपनाउन हामी बाध्य भयौं ।’
यो मुद्दाले हुवावे र अमेरिकी सरकारबीच भएको तिब्र विवादलाई अर्को उचाइमा पु¥याइदिएको छ । हुवावे चीनको सबैभन्दा ठुलो मध्येको प्रविधि फर्म हो र यसले उत्पादन गर्ने मोबाइल फोनहरु विश्वमै एप्पल र सामसुङसँग प्रतिष्पर्धामा छन् ।
तर अमेरिकाले हुवावेको माध्यमले चिनियाँ सरकारले अन्य राष्ट्रहरुको संवेदनशील सुचनामा जासुसी गर्न सक्ने आशंका गरेको छ । यस्तो तर्क पुष्टि गर्ने प्रमाण भने अमेरिकाले दिन सकेको छैन । अमेरिका र चीनबीचको ‘व्यापार युद्ध’को तनाव मत्थर हुँदै जाँदा हुवावेमाथिको कारबाही शुरु हुन थालेको छ ।
अमेरिकाले हुवावे साइबर सेक्युरिटीका लागि समेत चुनौती हुने जनाएको छ । ट्रम्प प्रशासनले अमेरिकाको नजिक रहेका मुलुकहरुलाई समेत हुवावेको प्रविधि प्रयोग सीमित गर्न अनुरोध गरेको छ । बेलायत, जर्मनी र अस्ट्रेलियाले हुवावेको प्रयोगलाई सीमित गर्ने कदमहरु चाल्न थालेका छन् ।












