शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा
काठमाडौं, जेठ १ : त्रिवि शिक्षण अस्पताल, महारजगञ्जका चिकित्सक तथा नर्ससहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ। कोरोना संक्रमित बालिकाको उपचारमा संलग्न....

काठमाडौं, जेठ १ : त्रिवि शिक्षण अस्पताल, महारजगञ्जका चिकित्सक तथा नर्ससहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ। कोरोना संक्रमित बालिकाको उपचारमा संलग्न चिकित्सक, नर्सलगायत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको हो।
अस्पतालको न्यूरो वार्डमा उपचाररत ६ वर्षीया बालिकामा आज कोरोना संक्रमण भएको पुष्टि भएको छ। उनलाई केही दिनअघि कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो। बालिकाको उपचारमा संलग्न चिकित्सक, नर्स तथा काठमाडौं ल्याउने आफन्तसहित ७५ जनाको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालका कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले बताए।
बालिकाको आमा, बुवा र उपचारमा संलग्न सबै चिकित्सकलाई अस्पतालको छुट्टै भवनमा क्वारेन्टाइमा राखिएको छ, उनले काठमाडौं प्रेससँग भने, बालिकालाई ल्याइएको सवारीको कन्ट्याक्ट ट्रेसिङ पनि गरिरहेका छौं। साथै संक्रमित बालिकासहित सबैको स्वास्थ्य स्थिती सामान्य रहेको उनले बताए।
श्वासनलीमा समस्या भएपछि नियमित उपचारको लागि उनलाई ३ दिन अघि अस्पताल ल्याइएको थियो। यसअघि मंसिरमा उपचार गराएकी बालिकालाई श्वासनलीको अप्रेशन गर्न अस्पताल ल्याइएको थियो। सबै परीक्षण सामान्य रहेपनि कोरोना परीक्षण को नतिजा पोजेटिभ आएको डा दासले बताए।











