Kathmandu Press

छिमेकीद्वारा मिचिएको भूमि फिर्ताको मागसहित ओखलढुंगामा युवाको प्रदर्शन

ओखलढुंगा, वैशाख ३१ : भारतले मिचेको नेपाली भूमि फिर्ता र सीमामा अलपत्र परेका नागरिकाको उद्दार गर्न माग गर्दै ओखलढुंगाको मोलुङ गाउँपालिकामा युवाहरु....

छिमेकीद्वारा मिचिएको भूमि फिर्ताको मागसहित ओखलढुंगामा युवाको प्रदर्शन

ओखलढुंगा, वैशाख ३१ : भारतले मिचेको नेपाली भूमि फिर्ता र सीमामा अलपत्र परेका नागरिकाको उद्दार गर्न माग गर्दै ओखलढुंगाको मोलुङ गाउँपालिकामा युवाहरुले विरोध प्रदर्शन गरेका छन्। लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका स्थानमा भारतले मिचेको भूमि फिर्ताको माग गर्दै बुधबार प्रदर्शन गरिएको हो।

स्थानीय युवाको नेतृत्वमा भएको प्रदर्शनमा भारतीय हस्तक्षेपविरुद्ध नाराबाजी गरिएको थियो। प्रदर्शनकारीले नाराबाजी गर्दै गाउँ परिक्रमा गरेका थिए। 

गाउँ परिक्रमापश्चात आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्यक्रम आयोजक सरोज खतिवडाले ठूला र साना सबै देशको सार्वभौमिकता र राष्ट्रिय सम्मान बराबरी भएको बताए। ‘६ दशकदेखि नेपाली भूमिमा अड्डा जमाएर भारतीय सेना बसेको छ, यो कुनै पनि नेपाली युवालाई सह्य हुन सक्दैन’, उनले भने,‘नेपाली स्वाधिनता रक्षाकालागि यो कठिन समयमा सम्पूर्ण नेपाली नागरिकले राष्ट्रको पक्षमा उभिन आवश्यक छ।’

अर्का युवा सन्तोष खतिवडाले मिचिएको भूमि फिर्ताको मागसहित सीमानामा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल फर्काउन माग गरे। ‘अहिले दक्षिणी सीमानामा नेपाली नागरिक अलपत्र परेका छन्, नेपालले फिर्ता ल्याएको छैन भने भारतले नेपालको सीमानामा छाडिदिने भएको छ’, उनले भने,‘ती नागरिकको पनि देश छ भन्ने बोध राज्यले तत्काल गराउनुपर्छ।’

कार्यक्रममा श्रीकृष्ण सुवेदीले भारत मात्र नभएर चीनले समेत नेपाली भूभागमा बाटो बनाउन सहमत हुनुले नेपालीमाथि दुवै छिमेकीको दृष्टिकोण विभेदकारी र अपमानजनक भएको टिप्पणी गरे। ‘महामारीको समयमै दुवै छिमेकीले भौगोलिक रुपमा सानो मुलुकको राष्ट्रिय स्वाभिमानमा आक्रमण गरेर हृदयहीनताको प्रदर्शन गरेका छन्’, उनले भने। 

सीमा समस्या समाधान नभएसम्म विभिन्न स्वरुपमा आन्दोलनलाई निरन्तरता दिने आयोजक युवाहरुले जनाएका छन्।

प्रकाशित मिति: १८:५१ बजे, बुधबार, वैशाख ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्