क्वारेन्टाइनबाट संक्रमित फरार भएपछि नरैनापुर गाउँपालिकामा उच्च सतर्कता
बाँके, वैशाख ३१ : सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका कोरोना संक्रमित एक युवक फरार भएपछि बाँकेको नरैनापुर गाउँपालिकामा उच्च सतर्कता अपनाइ....

बाँके, वैशाख ३१ : सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका कोरोना संक्रमित एक युवक फरार भएपछि बाँकेको नरैनापुर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ। भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनमा रहेका नरैनापुर ३ बहाउपुर्वा गाउँका युवक क्वारेन्टाइनबाट सोमबार फरार भएपछि नेपाल भित्रिएर गाउँमा आएको हुन सक्ने आशंकाले स्थानीयलाई सजग बनाई खोजतलास थालिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए।
पन्ध्र दिनदेखि भारतको श्रावस्तीस्थित सिरसिया क्वारेन्टाइनमा रहँदै आएका नरैनापुर–३ बहाउपूर्वा गाउँका तीन युवामा परीक्षणका क्रममा लखनउस्थित प्रयोगशालाले कोरोना भाइरस पुष्टि गरेको नरैनापुर ३ का वडाध्यक्ष राजकुमार मौर्यको भनाइ छ। उनका अनुसार संक्रमित तीनमध्ये एक युवक सोमबार बिहानदेखि क्वारेन्टाइनबाट फरार भएपछि नेपाल–भारत अवैध नाकाबाट प्रवेश गरी लुकिछिपी गाउँ फर्किने आशंका बढेकाले वडामा सजगता अपनाइएको छ।
१९, २४ र ३५ वर्षीय नेपाली युवा एक हप्ताअघि पनि क्वारेन्टाइनबाट भागेर घरमा आइबसेको पाइएपछि भारतकै क्वारेन्टाइनमा बस्न पठाइएको थियो। नेपाल–भारत मुख्य नाका जमुनाहमा आवतजावत ठप्प पारिएपछि नरैनापुर क्षेत्रमा भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम बढ्दो छ।











