नर्सको व्यावसायिक जीवनको सुरक्षाको दायित्व सरकारको हो : मुख्यमन्त्री पौडेल
हेटौंडा, वैशाख ३० : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नर्सहरुको व्यावसायिक जीवनको सुरक्षाको दायित्व सरकारको भएको बताएका छन्। अन्तर्राष्....

हेटौंडा, वैशाख ३० : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नर्सहरुको व्यावसायिक जीवनको सुरक्षाको दायित्व सरकारको भएको बताएका छन्। अन्तर्राष्ट्रिय नर्सिङ दिवसको उपलक्ष्यमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो दायित्व निर्वाह गर्ने स्वास्थ्यकर्मीहरुको जीवनको सुरक्षा र आइपर्ने जोखिमको सामना गर्नु सरकारको दायित्व हो भन्ने कुरामा वागमती प्रदेश सरकार स्पष्ट रहेको बताए।'अन्तर्राष्ट्रिय नर्सिङ दिवस तथा नर्सिङ क्षेत्रकी तारा फ्लोरेन्स नाइटिङ्गेलको २००औँ जन्मदिवसको उपलक्ष्यमा सम्पूर्ण नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मी दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु,' पौडेलले सन्देशमार्फत भनेका छन्।
उनले सन्देशमा “कोरोना भाइरसको सन्त्रासका बीचमा पनि अहोरात्र बिरामीको सेवा र रेखदेखमा क्रियाशील तमाम नर्सहरुप्रति उच्च सम्मानसहित हार्दिक आभार व्यक्त गर्दछु”, उल्लेख गरेका छन्। मुख्यमन्त्री पौडेलले आफू जोखिममा रहेर पनि बिरामीहरुको स्वास्थ्य सेवामा समर्पित हुनु आफैँमा पेशाप्रतिको इमान्दारिता र व्यावसायिक दायित्व भएको बताएका छन्।











