दीपक बोहोरालाई सहमहामन्त्रीमा अघि सारेपछि रास्वपामा किचलो
बोहराले सहकोषाध्यक्ष पदबाट राजीनामा नदिई एकाएक विना आधार सहमहामन्त्री बनाउन खोजिएको भन्दै बैठकमा प्रश्न उठेको बताइएको छ।
काठमाडौं, साउन २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा दीपक बोहरालाई अघि सारेपछि किचलो उत्पन्न भएको छ।
एजेण्डाविनै बोहोराको नाम बैठकमा प्रस्ताव गरिएपछि केन्द्रीय सदस्यद्वय डा.तोसिमा कार्की र क्रान्तिशिखा धितालले विरोध जनाएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा हिजो बसेकोे केन्द्रीय समिति बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले बोहराको नाम सहमहामन्त्रीका लागि प्रश्ताव गरेका थिए। लगत्तै कार्यसूचीमै नभएको सहमहामन्त्रीको प्रस्ताव ल्याइएको भन्दै कार्की र धितालले आपत्ति जनाए।
सुमना श्रेष्ठले राजीनामा दिएपछि रास्वपामा सहमहामन्त्री पद रिक्त छ।
बैठकको कार्यसूचीमा सहमहामन्त्री मनोनीतको विषय नै नरहेको अवस्थामा एक्कासी बोहोरालाई सहमहामन्त्रीमा प्रस्ताव गरिएको थियो। बोहराले सहकोषाध्यक्ष पदबाट राजीनामा नदिई एकाएक विना आधार सहमहामन्त्री बनाउन खोजिएको भन्दै बैठकमा प्रश्न उठेको बताइएको छ।
रास्वपा बैठकमा महिला सहमहामन्त्रीको ठाउँमा महिला नै हुनुपर्ने आवाज उठेको छ । विवाद उत्पन्न भएपछि हाललाई प्रश्ताव स्थगन गरिएको छ।
रिक्त पदमा पूर्ति गर्ने गर्ने नाममा पर्याप्त छलफलविनै प्रश्ताव आएको र यस बिषयमा सचिवालयमा समेत छलफल नभएको जनाइएको छ।
बोहरा पार्टी सभापति रवि लामिछानेका निकट सहयोगी हुन् । श्रेष्ठको राजिनामापछि अहिले पार्टीमा विपिनकुमार आचार्य सहमहामन्त्री रहेका छन्।












