उपमहासचिव शर्माले अध्यक्ष दाहालविरुद्ध लगाएका आरोप खारेज गर्दै माओवादीले गर्यो सर्कुलर
स्थायी समिति बैठकमा आन्तरिक पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा पार्टीका केन्द्रीय उपमहासचिव जनार्दन शर्मा प्रभाकरका सार्वजनिक अभिव्यक्ति र गतिविधिबारे गम्भीर छलफल भएको समेत सर्कुलरमा उल्लेख छ।
काठमाडौं, साउन २३ : मओवादी केन्द्रको स्थायी समिति बैठकले उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहालविरूद्ध लगाएको आरोप खारेज गर्दै नेकपा मातहतका समितिमा सर्कुलर पठाएको छ।
स्थायी समिति बैठकको निर्णय तल्ला समितिहरूमा सर्कुलर गर्दै माओवादी केन्द्रले उपमहासचिव शर्माले आत्मालोचित हुन नमानेको जनाएको छ।
स्थायी समिति बैठकमा आन्तरिक पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा पार्टीका केन्द्रीय उपमहासचिव जनार्दन शर्मा प्रभाकरका सार्वजनिक अभिव्यक्ति र गतिविधिबारे गम्भीर छलफल भएको समेत सर्कुलरमा उल्लेख छ।
छलफलका क्रममा पार्टी नीति र नेतृत्वविरूद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रुपमा माइन्युटमा हस्ताक्षर नगर्ने, गुटबन्दीजन्य गतिबिधिहरू सञ्चालन गरिरहने जस्ता कार्यहरू पार्टी नीति विपरित भएको ठहर सहित स्थायी समिति सदस्यहरूबाट उपमहासचिव जनार्दन शर्मा प्रभाकरलाई त्यस्ता क्रियाकलापहरूप्रति आत्मालोचना गरी गल्ती कमजोरी सच्याउन जोड दिए पनि इन्कार गरिएको सर्कुलरमा उल्लेख छ।
‘अध्यक्ष कमरेडले बैठकको अन्तिमसम्म पनि स्थायी समितिका सदस्यहरूको सुझाव र आलोचनालाई आत्मसाथ गरी कमजोरी सच्याउन विशेष आग्रह गर्नुभयो। तर कमरेड प्रभाकरले माइन्यूटमा हस्ताक्षर नगरेको बिषय बाहेक अन्य विषयहरूमा ठोस रुपमा आत्मालोचना गर्नुभएन,’ सर्कुलरमा भनिएको छ।
साथै, उपमहासचिव शर्माले उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोपहरू लगाएको समेत भनिएको छ।
स्थायी समिति बैठकले आफ्ना भिन्न मत भए कमिटिमा विधिसम्मत छलफलको स्वतन्त्रता रहने विश्वास दिलाउँदै पार्टीलाई एकताबद्ध बनाई अगाडि बढ्न पनि जोड दिइएको समेत सर्कुलरमा जनाइएको छ। माओवादी केन्द्रको स्थायी समिति बैठक अघिल्लो शुक्रबारदेखि आइतबारसम्म चलेको थियो।





-1771421086.png)






