रविले अदालतमा बुझाए बिगो बापतको बैंक जमानत
आफूलाई थुनाबाहिर राख्न माग गर्दै लामिछानेले केही दिनअघि रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए। निवेदनसँगै लामिछानेले आफ्नो भागको बिगो बापतको बैंक जमानत पनि पेस गरेका थिए।
बुटबल, साउन २२ : सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले आफुलाई लागेके बिगो बापतको बैंक जमानत अदालतमा बुझाएका छन्।
आफूलाई थुनाबाहिर राख्न माग गर्दै लामिछानेले केही दिनअघि रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए। निवेदनसँगै लामिछानेले आफ्नो भागको बिगो बापतको बैंक जमानत पनि पेस गरेका थिए।
सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेश गरेका हुन् । लामिछानेले अदालतमा पेश गरेको निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई दफा ७१ बमोजिम थुनामुक्त गर्न आदेश माग गरेका थिए।
लामिछानेको निवेदन अनुरुप जिल्ला न्यायाधिश डिल्लीराम शर्मा अर्यालको इजलासले विपक्षीलाई जानकारी दिने आदेश गरेको छ। त्यसपछि सुनुवाई भएको छैन । यसअघि रुपन्देही जिल्ला अदालतले गत माघ १३ गते लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर उक्त आदेशविरुद्ध सरकारले उच्च अदालतमा पुनरावेदन गरेको थियो।
लामिछाने पनि धरौटी रकम घटाउन माग राखेर उच्च अदालत पुगेका थिए । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो।
त्यसलगत्तै पक्राउ परेका उनी हाल थुनामै छन्। उच्चको आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा दिएको निवेदनमा पनि उच्चकै आदेश दर भएको थियो।




-1771421086.png)







