सङ्क्रमित युवकको गाउँ नै सिल
सप्तरी, वैशाख ३० : सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ मा भेटिएका कोरोना सङ्क्रमित युवकको गाउँलाई सिल गरिएको छ।
जिल्ला सुरक्षा समितिको बै....

सप्तरी, वैशाख ३० : सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ मा भेटिएका कोरोना सङ्क्रमित युवकको गाउँलाई सिल गरिएको छ।
जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका–३ हटैलटोल र त्यसआसपास क्षेत्रलाई सिल गर्ने निर्णय गरेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताए।
वैशाख ९ गते चितवनबाट घर आएका ती युवकमा सोमबार कोरोना सङ्क्रमण देखापरेको हो। चितवनबाट आएका युवकलाई सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ स्थित कन्तचन्द्र मावि पातोको क्वारेन्टाइनमा राखिएको थियो।
अहिले सङ्क्रमित युवकलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। उनलाई अस्पतालमा भर्ना गरी हटैल र उक्त गाउँका आसपास क्षेत्रलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले बताए।
उनको वैशाख २५ गते स्वाब सङ्कलन गरिएको थियो। उनी रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट सिधै घर गएका थिए। त्यसैले गाउँनै सिल गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यसैबीच उनका परिवारसहित उनको सम्पर्कमा आएका सबै व्यक्तिको कोरोना परीक्षण गरिने सूचना अधिकारी ठाकुरले बताए। उनीसँगै क्वारेन्टाइनमा रहेका अन्य व्यक्ति तथा उनका परिवारजनसहित उनीसँग सम्पर्कमा आएका अन्य सबै व्यक्तिको स्वाब परीक्षण गरिने उनको भनाइ छ।











