देव गुरुङ भन्छन्– माओवादी केन्द्र र नेकपाबीच छिट्टै एकता हुन्छ
गुरुङले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिहरुबीचको एकता अत्यावश्यक भएको बताए।
काठमाडौं, साउन २१ : नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुने बताएका छन्।
बुधबार काठमाडौंमा एक अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिए।
गुरुङले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिहरुबीचको एकता अत्यावश्यक भएको बताए।
‘अहिले विप्लवजीको पार्टीसँग मात्रै नभएर देश, जनता र समयको मागअनुसार नेकपा (एस) सँग पनि एकताका लागि छलफल चलेको छ,’ गुरुङले भने।
नेकपासँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकोले पनि छिटो एकता गर्न सहज हुने बताए। गुरुङले भने, ‘समाजवादी क्रान्तिका लागि न्यूनतमदेखि अधिकतम कार्यक्रम, संगठन कसरी बलियो बनाउने, सदन र सडकसम्म संघर्ष कसरी गर्ने भन्नेलगायतका विषयबारे छलफल गरेर एकता आधार तयार गर्नुपर्नेछ।’
स्थायी समिति बैठक जनार्दन शर्मा केन्द्रीत भएको रहेछ नि? भन्ने संचारकर्मीहरुको प्रश्नमा गुरुङले भने पार्टीमा घनिभूत छलफल भएको र पार्टी थप एकताबद्ध भएको बताए।
‘पार्टी बलियो बनाउनुका साथै विचार मिल्ने शक्तिहरुसँग एकता गर्ने बेला आएको छ । अहिले देशमा बढ्दै गएको राजनितिक संकटले पार्टी मजबुत बनाउनुपर्ने बेला कोही कसैका विचारलाई निषेध गर्नु हुन्न, गर्न पनि सकिँदैन,’ गुरुङले थपे।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरेर निरन्तररुपमा सदन अबरुद्ध गर्दा महत्वपूर्ण विधेयकहरु रोकिने भएकाले २ बुँदे सहमति गरेको विषय स्थायी कमिटीले सहि भएको मूल्याङकन गरेको गुरुङले बताए।
कुलिङ पिरियड प्रकरणबारे बनेको छानविन समितिले सहि निष्कर्ष निकालेर त्यसलाई सच्याउनु पर्छ भन्ने आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि बताए।






-1771421086.png)





