Kathmandu Press

बजेट तथा कार्यक्रम अघि बढाउन मन्त्री दाहालको निर्देशन

आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिना अघि नै बजेट सार्वजनिक गर्नुको मर्म पनि आर्थिक वर्षको सुरुवातसँगै कार्यान्वयन प्रकृया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै मन्त्री दाहालले बेलैदेखि काम सुरु गरि उच्च नतिजा निकाल्न निर्देशन दिए। 
बजेट तथा कार्यक्रम अघि बढाउन मन्त्री दाहालको निर्देशन

काठमाडौं, साउन २१ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वन अघि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन्। 

सडक विभागको गत आर्थिक वर्षको प्रगती समिक्षा कार्यक्रमलाई संवोधन गर्दै बुधबार मन्त्री दाहालले ‘अहिले के को हतार, बिस्तारै गरौंला नि’ भन्ने नसोची बजेट तथा कार्यक्रम कार्यान्वनको प्रकृया अघि बढाउन निर्देशन दिएका हुन्। 

आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिना अघि नै बजेट सार्वजनिक गर्नुको मर्म पनि आर्थिक वर्षको सुरुवातसँगै कार्यान्वयन प्रकृया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै मन्त्री दाहालले बेलैदेखि काम सुरु गरि उच्च नतिजा निकाल्न निर्देशन दिए। 

‘आर्थिक वर्षको अन्त्य तिर हतार हतार काम गरेर बजेट कार्यान्वयनको परिमाण बढाउने चलन पनि छ,’ मन्त्री दाहालले भने, ‘बेलामा काम नथाल्ने अनि बित्न लागे पछि हतार गरेर राम्रो परिणाम निस्कदैन त्यसैले अहिले देखिनै काम अघि बढाउनु होला, गत आर्थिक वर्षको भन्दा राम्रो नतिजा देखिने गरि काम गर्नुपर्छ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नागरिकलाई विकासको महसुस गराउने प्रमुख मन्त्रालय रहेको र यसमध्ये पनि सडक विभाग प्रमुख अंग रहेकाले सडक विभागको काम र परिणामले सिंगो मन्त्रालयको कार्यसम्पादन र नतिजामा ठुलो अर्थ राख्ने मन्त्री दाहालको भनाई थियो। 

थालिएका योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्नुपर्ने भन्दै मन्त्री दाहालले अब सुरु गर्ने योजनामा कुनै अवरोध आउन नदिन आग्रह समेत गरे। 

निर्माण कार्यलाई छिटो, छरितो र गुणस्तरीय बनाउन सम्झौता गर्न नसकिने धारणा राख्दै उनले भने, ‘छिटोको नाममा गुणस्तरहिन काम हुनु भएन र गुणस्तर कायम गर्ने नाममा ढिलासुस्ती पनि हुनु भएन, समय र गुणस्तरलाई सन्तुलनमा राखेर काम गर्न आवश्यक छ।’ 

वर्षायाम शुरु भई सकेकाले सडक तथा यातायात अवरुद्ध हुन नदिने गरी श्रोत साधन, जनशक्ति र उपकरण परिचालन गर्न समेत उनको निर्देशन छ। 

प्रकाशित मिति: ११:३० बजे, बुधबार, साउन २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्