‘कुलिङ अफ पिरियड’ गडवडी प्रकरणमा सभापति खतिवडा र सचिव दुरा मुख्य दोषी किटान
कुलिङ अफ पिरियड’ गडवडी प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई मुख्य दोषी किटान गर्दै प्रतिवेदन तयार पारिएको छ।
काठमाडौं, साउन २० : संघीय निजामती सेवा विधेययकको ‘कुलिङ अफ पिरियड’ गडवडी प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई मुख्य दोषी किटान गर्दै प्रतिवेदन तयार पारिएको छ।
संसदीय विशेष छानबिन समितिको बैठकले मंगलबार विहान सर्वसम्मत प्रतिवेदन तयार पारेको हो।
प्रतिवेदनमा समितिका सभापति र सचिव मुख्य जिम्मेवार ठहर गरिएको छ। यसका साथै विषयगत र प्रत्यक्ष संलग्न भएकालाई समेत जिम्मेवार भनिएको छ।
सभापतिको हैसियतले खतिवडाले आफ्नो भूमिका पूरा गर्न नसकेको प्रतिवेदन निष्कर्ष छ। सरकारका मुख्यसचिव, सामान्य प्रशासन मन्त्रालयका सचिव, मन्त्रिपरिषद् कार्यालयका कानुन सचिवले पदीय आचरण आचरणअनुसार काम नगरेको बताइएको छ।
संघीय निजामती सेवा विधेयकमा राखिएको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान नै निष्क्रिय बनाउने गरी ‘बाहेक’ शब्द घुसाइएपछि छानबिनका लागि कांग्रेस सहमहामन्त्री एवम् सांसद जिवन परियारको संयोजकत्वमा संसदीय समिति गठन गरिएको हो।
छानबिन गर्न बनेको २८ दिनमा पनि कुलिङ अफ पिरियडमा ‘बाहेक’ शब्द कसले थप्यो भन्ने विषयको टुंगो लागेको छैन । यद्धपी, समितिका सातैजना सदस्यले प्रतिवेदनमा हस्ताक्षर गरेको बताइएको छ।
समितिमा कांग्रेसबाट परियार (संयोजक) र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की समितिमा सदस्य रहेका थिए।












