उच्च अदालतमा तीनकुने घटनाका आरोपीहरूको सुनुवाई सकियो, आदेशको तयारी
जिल्लाको आदेशपछि सरकारले उच्च अदालतमा गरेको पुनरावेदनमाथिको बहस सकिएको छ। बहस सकिएकाले न्यायाधीशहरुले आजै आदेश दिने संभावना रहेको छ।
काठमाडौं, साउन १९ : तीनकुने घटनाका आरोपी रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री डा.धवलशमशेर राणा एवम् राजसंस्था पुनःस्थापना आन्दोलनका कमाण्डर रहेका दुर्गा प्रसाईंको मुद्दामा सोमबार उच्च अदालतमा सुनुवाई सकिएको छ।
चैत १५ गते भएको तीनकुने घटनाका आरोपी राप्रपाका मिश्र र डा.राणा धरौटी रकम राखेर थुना बाहिर छन् भने प्रसाईं पुर्पक्षका लागि थुनामा छन्।
जिल्लाको आदेशपछि सरकारले उच्च अदालतमा गरेको पुनरावेदनमाथिको बहस सकिएको छ। बहस सकिएकाले न्यायाधीशहरुले आजै आदेश दिने संभावना रहेको छ।
यसअघि जिल्ला अदालत काठमाडौंले राप्रपा नेता मिश्र र राणासँग जनही तीन लाख रुपैयाँ धरौटी रकममा छोडेको थियो। प्रसाईंलाई भने पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको सथियो। त्यसपछि सरकारी वकीलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो। सरकारको पुनरावेदनमा चार दिनदेखि बहस चलिरहेको छ।
सोमबार उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्ली रत्न श्रेष्ठको संयुक्त इजलासमा भएको सुनुवाईमा मिश्र र राणाका तर्फबाट डा. भीमार्जुन आचार्य, गोविन्द बन्दी, सतिशकृष्ण खरेल लगायतका कानून व्यवसायीले थुनामा राख्ने कुनै पनि आधार र कारण नभएको जिकिर गर्दै जिल्लाको आदेश अनुरुप थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित बहस गरेका थिए।
यता सरकारी वकिलहरुले भने जिल्ला अदालतको आदेश उल्टाएर मुद्दाको अन्तिम फैसला नहुञ्जेल मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेका छन् । गम्भीर आपराधिक आरोपको कसुर रहेको भन्दै उनीहरुलाई थुना बाहिर राख्न नमिल्ने दाबी सरकारी वकीलको थियो।
थुनामा राखिएका दुर्गा प्रसाईं लगायतको सुनवाइ पनि सकिएको छ । प्रसाईंलगायतले पनि आफूहरुलाई थुनामै राख्ने जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रहन पाउनुपर्ने माग गरेका छन्। तीनकुने घटनासम्बद्ध सबै मुद्दा एकैसाथ राखेर उच्चमा सुनुवाई भएको थियो।



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)