नेफेजले पत्रकारहरुलाई बाँड्यो व्यक्तिगत सुरक्षाका सामग्री
काठमाडौं, वैशाख २९ : नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले कोभिड–१९ को अग्रमोर्चामा रहेर रिपोर्टिङ गर्ने पत्रकारहरुलाई पीपीई सेटलगायतका स्व....

काठमाडौं, वैशाख २९ : नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले कोभिड–१९ को अग्रमोर्चामा रहेर रिपोर्टिङ गर्ने पत्रकारहरुलाई पीपीई सेटलगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ।
समूहले सोमबार संस्थागत दायित्व आत्मसात गर्दै राष्ट्रिय दैनिकका पत्रकार र फोटोपत्रकार तथा टेलिभिजनकर्मीलाई ती सामग्री हस्तान्तरण गरेको हो। कोरोना भाइरसको संक्रमण र त्यसका बिरामीहरुबारे स्थलगत रिपोर्टिङमा खटिएका पत्रकारहरुको स्वास्थ्य सुरक्षाप्रति चासो राखेर सामग्री हस्तान्तरण गरिएको नेफेजले जनाएको छ।
समूहका अध्यक्ष कसमस विश्वकर्माले सोमबार एक अनौपचारिक कार्यक्रममा पीपीई सेट, ह्यान्ड स्यानिटाइजर, मास्क र पन्जा पत्रकारहरुलाई हस्तान्तरण गरेका थिए। सबै सामग्री एक–एक सेट प्रदान गरिएको हो। एउटा सञ्चार संस्थाका पत्रकार र फोटो पत्रकार गरी दुई जनालाई यी सामग्री उपलब्ध गराइएको हो।
अध्यक्ष विश्वकर्माले कोरोना महामारीको अग्रमोर्चामा सक्रिय रुपमा रिपोर्टिङ गरिरहेका सञ्चारकर्मीहरु स्वस्थ भएमात्र सत्य तथ्य सूचना प्रवाह हुने र सूचना विना यसको रोकथाम तथा नियन्त्रण सम्भव नभएको महसुस गरेर सामग्री हस्तान्तरण गरिएको बताए।
समूहले नेदरल्याण्डस्थित सहयोगी संस्था फ्रि प्रेस अनलिमिटेडको आर्थिक सहयोगमा यी सामग्री खरिद गरी उपलब्ध गराएको हो।











