Kathmandu Press

सभामुख घिमिरे स्वदेश फर्किए

विधिको शासन, सहभागितामूलक शासन प्रणाली, नीति निर्माण प्रक्रियामा जनसहभागिता तथा सरकार सञ्चालनको प्रभावकारिता जस्ता विषयमा समेत विस्तृत छलफल भएको बताए।
सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं, साउन १८ : स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न छैटौं विश्व सम्मेलनमा सहभागी भई सभामुख देवराज घिमिरे आइतबार स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले सम्मेलनमा विश्वका करिब ८२ देशका संसदका प्रमुखहरूको सहभागिता रहेको जानकारी दिए। उनले सम्मेलनमा डिजिटल प्रविधिको उपयोगमार्फत संसदलाई अझ प्रभावकारी बनाउने उपायहरूबारे गहन छलफल भएको बताए।

Hardik ivf

सभामुख घिमिरेले सम्मेलनमा दिगो विकासका लक्ष्यहरूको समिक्षा गर्दै सन् २०३० पछि त्यसको भविष्यको रूपरेखाबारे विचारविमर्श भएको बताए।

त्यस्तै, विधिको शासन, सहभागितामूलक शासन प्रणाली, नीति निर्माण प्रक्रियामा जनसहभागिता तथा सरकार सञ्चालनको प्रभावकारिता जस्ता विषयमा समेत विस्तृत छलफल भएको बताए।

‘छैटौं विश्व सम्मेलनमा विश्वका करिब ८२ मुलुका संसदका प्रमुखहरुको सहभागिता रहेको थियो। उक्त छैटौं विश्व सम्मेलनमा डिजिटल प्रविधि र संसदलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो,’ उनले भने, ‘दिगो विकास सम्बन्धी कामको समिक्षा र त्यस पछाडिको समय सक्किएपछि २०३० पछाडि कसरी जानुपर्छ भन्ने विषयमा समेत छलफल भएको थियो । सहभागितामुलक ढंगबाट सबैको सहभागिता बनाएर शासन सञ्चालनमा विधि निर्माण गर्नेदेखि लिएर सरकार सञ्चालनमा कसरी जान सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो।’

यसैगरी जलवायु परिवर्तन, गरिबी र पछाडि परेका मुलुकहरूमा देखा परिरहेका चुनौतीहरू तथा तिनको समाधानका उपायहरूमा समेत सम्मेलनमा प्राथमिकताका साथ चर्चा भएको सभामुख घिमिरेले जानकारी दिए।

उनले नेपालको तर्फबाट सम्मेलनको जेनरल डिबेटमा कार्यपत्र प्रस्तुत गर्दै आफ्नो विचार राखिएको पनि उल्लेख गरे।

‘गरिबी र पछाडि परेका मुलुकहरुलाई अगाडि बढ्नको लागि आइरहेका चुनौतिहरु त्यसमा पनि जलवायु परिवर्तनले पारिरहेका असरहरु यी जस्ता विषयहरुमा छलफल भएका थिए,’ उनले भने, ‘यसमा नेपालको तर्फबाट जेनरल डिभेटमा कार्यपत्र र विचारहरु राखेर छलफलमा भाग लिने काम मुख्यगरी भयो।’ 
 

प्रकाशित मिति: १५:५३ बजे, आइतबार, साउन १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्