Kathmandu Press

व्यक्तिगत कुरालाई लिएर पार्टीभित्र असमझदारी बढाउन हुँदैन : मन्त्री डा.राणा 

उनले पार्टी संगठनभित्र एकआपसमा स्वच्छ प्रतिस्पर्धा हुने भएपनि यही प्रतिस्पर्धाका कारण पार्टीलाई विभाजित गराउन नहुने भनाई राखिन्। 
व्यक्तिगत कुरालाई लिएर पार्टीभित्र असमझदारी बढाउन हुँदैन : मन्त्री डा.राणा 

कास्की, साउन १५ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले व्यक्तिगत कुरालाई लिएर पार्टी सङ्गठनभित्र असमझदारी बढाउन नहुने भनाई राखेकी छिन्। 

नेपाली कांग्रेस कास्कीद्वारा विहीबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मनत्री राणाले उक्त भनाई राखेकी हुन्। उनले पार्टी संगठनभित्र एकआपसमा स्वच्छ प्रतिस्पर्धा हुने भएपनि यही प्रतिस्पर्धाका कारण पार्टीलाई विभाजित गराउन नहुने भनाई राखिन्। 

कांग्रेसका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत नेताहरूको अतुलनीय योगदानका कारण पार्टी यस स्थानमा आइपुगेको बताउँदै कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी राणाले उनीहरूको मार्ग निर्देशलाई आत्मसात गर्दै अघि बढ्न जरुरी रहेको बताइन्। 

उनले कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा हुने भए पनि कसैलाई काखा र कसैलाई पाखा नलगाई एकढिक्का भएर पार्टी झन् बलियो र सुदृढ हुने विश्वास पनि उनले राखिन्। 

पछिल्लो दिनमा ‘देशमा केही भएको छैन’ भन्ने नकारात्मक भाष्यलाई बढी प्रचार गर्न खोजिएको पनि उनले बताइन्। 

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले स्थापनाकालीन राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल्य मान्यतालाई भुल्न नहुने बताए। नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेस राष्ट्रका जस्तोसुकै चुनौतीलाई समाधान गर्दै अघि बढ्न सक्ने पार्टी रहेको बताए। 

प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, साउन १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्