जबज नपढी यसको प्रवक्ता बन्ने प्रवृद्धि बढेको छ : महासचिव पोखरेल
‘७० वर्ष उमेर हटाउँदा जबजको मूल मान्यतामा कहाँनेर असर पर्दछ?,’ उनले भने, ‘जबज नपढी यसको प्रवक्ता बन्ने खोज्ने प्रवृत्ति छ। पार्टीको लोकतान्त्रिकीकरणको मूल मान्यताबाट पार्टी नेतृत्व तलमाथि भएको छैन।’
काठमाडौं, साउन १४ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा तीव्र आर्थिक विकास नीति अबलम्बन गर्नुपर्ने जरुरी रहेको बताएका छन्।
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को १२औं प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उनले आर्थिक र सामाजिक देखिएका समस्यालाई योजनाबद्ध ढंगले समाधान गर्नका लागि तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नुपर्ने बताए।
महासचिव पोखरेलले पछिल्लो समयमा तीव्रताका साथ सामाजिक विकास भए पनि त्यही गतिमा आर्थिक विकास हुन नसकेको उल्लेख गरे। कमजोर राज्यले श्रमजीवी वर्गलाई अधिकार सम्पन्न गराउन नसक्ने भन्दै मुलुकलाई बलियो बनाउन श्रमजीवी बलियो बन्नुपर्नेमा उनको जोड थियो।
पार्टी नेतृत्व बलियो र पारदर्शी हुनुपर्ने उल्लेख गर्दै पार्टीमा लागू गरिएको ७० वर्ष उमेरको हद लोकतान्त्रिक मूल्यमान्यताको विशेषताविपरीत नभएको उनले बताए।
‘७० वर्ष उमेर हटाउँदा जबजको मूल मान्यतामा कहाँनेर असर पर्दछ?,’ उनले भने, ‘जबज नपढी यसको प्रवक्ता बन्ने खोज्ने प्रवृत्ति छ। पार्टीको लोकतान्त्रिकीकरणको मूल मान्यताबाट पार्टी नेतृत्व तलमाथि भएको छैन।’
महासचिव पोखरेलले राष्ट्रिय महाधिवेशनमा उम्मेदवार बन्ने सबैको अधिकार सुरक्षित रहेको भन्दै जनमतबाट नेतृत्व छान्ने अधिकार प्रतिनिधिहरूमा हुने बताए। उनलेले दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राख्नुहोला भन्ने कल्पना बाहिर रहेको बताए।
एमालेको नवौं केन्द्रीय कमिटी बैठकको निर्णयले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सम्मानित भएर बस्नुपर्छ भनेर दृष्टिकोण सार्वजनिक गरेको उनले बताए।












