Kathmandu Press

सरकारलाई कांग्रेसले भन्यो- सीमा अतिक्रमणबारे भारत र चीन दुवै देशसँग वार्ता गर

काठमाडौं, वैशाख २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अतिक्रमित नेपाली भू-भागका विषयमा भारत र चीन दुवै देशसँग वार्ता गर्न सरकारलाई आग्रह गर....

सरकारलाई कांग्रेसले भन्यो- सीमा अतिक्रमणबारे भारत र चीन दुवै देशसँग वार्ता गर

काठमाडौं, वैशाख २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अतिक्रमित नेपाली भू-भागका विषयमा भारत र चीन दुवै देशसँग वार्ता गर्न सरकारलाई आग्रह गरेको छ। 

सोमबार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी भारत र चीन दुवै देशसँग उच्चस्तरीय कूटनीतिक प्रक्रियामार्फत सम्बाद गरेर नेपाली भूमिको रक्षा गर्न सरकारलाई आग्रह गरेका हुन्। 

‘कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका नेपालको भूमिबारे कांग्रेसले विगत देखिनै राख्दै आएको प्रष्ट दृष्टिकोणको जगमा फेरि पनि हामी आग्रह गर्न चाहन्छौं सरकारले उच्चस्तरीय कूटनैतिक प्रक्रियामार्फत आजको मुद्दा हल गर्न गम्भीर पहलकदमी गर्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रवक्ता शमाएले सन् १८१६ को सुगौली सन्धिले नेपालको पश्चिमी सीमाना महाकाली नदी किटान गरेको ऐतिहासिक तथ्य नै विद्यमान प्रकरण समाधानको मुल आधार भएको बताएका छन्। महाकाली नदी पूर्वको भू–भाग कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनु पर्ने पनि कांग्रेसले दोहोर्‍याएको छ। 

शर्माले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेर भारतले नेपालको स्वाधीनतामाथिको ठाडो हस्तक्षेप गरेकाले कांग्रेसलाई त्यो अस्वीकार्य भएको बताएका छन्।

‘भारतको पिथौरागढ हुँदै नेपालको लिपुलेक भएर चीनको मानसरोवर जोड्ने सडकको पृष्ठभूमिमा सन् २०१५ मे महिनाको भारत–चीन सहमति र कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले त्यो सहमतिप्रति कडा विरोध जनाउँदै दुवै देशलाई पठाएको  ‘प्रोटेस्ट नोट’ स्मरण गर्दै यो बिषयमा दुबै राष्ट्रसंग नेपालले गहन संवाद गर्न अत्यावश्यक रहेको औंल्याउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

उनले कांग्रेसले संसारका हरेक मुलुकको सार्वभौमिकताको सम्मान गर्ने भएकाले नेपालकाबारे अरु राष्ट्रसिँग पनि त्यही अपेक्षा गरेको बताएका छन्।

‘दुवै छिमेकी मित्र राष्ट्र सँग  ‘प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान’ नेपालको अहिलेको परिपक्व रणनीति हुनुपर्दछ। सामान्य वक्तव्य वा सामान्य नोट जारी गरेर नेपाल सरकारको दायित्व पूरा हुन्न। अतः दीर्घकालीन समाधानका लागि सुस्पष्ट ढंगले उच्च स्तरीय कुटनैतिक पहल गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई फेरि पनि आग्रह गर्दछ,’ शर्माले भनेका छन्।
 

प्रकाशित मिति: १७:१९ बजे, सोमबार, वैशाख २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्