Kathmandu Press

विधि निर्माणदेखि कार्यान्वयनसम्म सांसदहरू अझ जिम्मेवार हुनुपर्छ : सभापति सुवेदी

उनले सामाजिक समानता र लैंगिक न्याय सुनिश्चित गर्न संसद्लाई थप सक्रिय बनाइनुपर्नेमा जोड दिइन्। 
विधि निर्माणदेखि कार्यान्वयनसम्म सांसदहरू अझ जिम्मेवार हुनुपर्छ : सभापति सुवेदी
फाइल तस्बिर।

काठमाडौं, साउन १२ : प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदीले विधि निर्माणदेखि कार्यान्वयनसम्म सांसदहरूको भूमिका अझ जिम्मेवार हुनुपर्ने बताएकी छिन्। 

लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकार र सांसदहरूको भूमिका विषयक एकदिने राष्ट्रिय संवाद कार्यक्रममा उनले सामाजिक समानता र लैंगिक न्याय सुनिश्चित गर्न संसद्लाई थप सक्रिय बनाइनुपर्नेमा जोड दिइन्। 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पहुँच अझै सन्तोषजनक नहुनु दुःखद् रहेको उल्लेख गर्दै आगामी दिनमा समावेशी नीति निर्माणमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा संघीय संसद्अन्तर्गत विभिन्न समिति सभापति तथा सांसदहरूको उपस्थिति रहेको थियो। त्यस अवसरमा राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसदहरू, नागरिक समाजका प्रतिनिधिहरू, मानवअधिकारकर्मीहरू तथा सरोकारवालाहरूको सक्रिय सहभागिता थियो। 

सहभागीहरूले समुदायका अधिकार सुनिश्चित गर्नका लागि कानुनी सुधार, बजेट विनियोजन, शिक्षामा समावेशीकरण र सामाजिक चेतनामूलक अभियानको आवश्यकता औंल्याएका थिए।

प्रकाशित मिति: १५:३९ बजे, सोमबार, साउन १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्