Kathmandu Press

बिपी राजमार्गको चार खण्डको ठेक्का चार कम्पनीले पाए

सडक विभागले हालसम्म चार निर्माण कम्पनीसँग विभिन्न चार खण्डका ठेक्का सम्झौता गरिसकेको छ भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अर्को खण्ड अनुदानमा निर्माण गर्ने तयारी गरिरहेको छ।
बिपी राजमार्गको चार खण्डको ठेक्का चार कम्पनीले पाए

काभ्रे, साउन १२ : विपी राजमार्गको करिब ३० किलोमिटर सडक अब दुई लेनको राष्ट्रिय मापदण्डअनुसार निर्माण हुने भएको छ। 

सडक विभागले हालसम्म चार निर्माण कम्पनीसँग विभिन्न चार खण्डका ठेक्का सम्झौता गरिसकेको छ भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अर्को खण्ड अनुदानमा निर्माण गर्ने तयारी गरिरहेको छ।

सडक विभागका अनुसार निर्माण कार्यको ठेक्का सम्झौता सम्पन्न भएको मितिबाट दुई वर्षभित्र सबै काम सम्पन्न गरिसक्नुपर्नेछ। यस निर्माणले विपी राजमार्गमा सवारी आवागमन सहज हुने, ट्राफिक जाम घट्ने र दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ।

भकुण्डेबेसीदेखि चारसयबेसीसम्मको ११ किलोमिटर सडक खण्डको निर्माण ठेक्का लामा–नव कान्तिपुर जेभीले पाएको छ। विभागसँग भएको सम्झौताअनुसार यो खण्ड निर्माणका लागि भ्याटबाहेक १ अर्ब १४ करोड रुपैयाँको ठेक्का मूल्य निर्धारण गरिएको छ।  

चारसयबेसीदेखि डालाबेसीसम्मको ९ किलोमिटर दूरीको सडक खानी–कमलजित–एवान जेभीले निर्माण गर्ने भएको छ । यसका लागि विभागले भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता गरिसकेको छ । यी दुवै खण्ड दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने गरी ठेक्का सम्झौता भएको हो।

विपी राजमार्गमा पर्ने पिप्लेदेखि बर्खेखोलासम्मको खण्डको निर्माण जाइकाले गर्ने भएको छ। प्रारम्भिक योजना अनुसार ५ किलोमिटर खण्ड बनाउन चाहेको भए पनि पछि जाइकाले जम्मा ३.२ किलोमिटर मात्रै बनाउने जानकारी दिएको हो। उक्त खण्डमा अहिले जाइकामार्फत अन्तिम सर्भेको काम भइरहेको छ । जापानी सरकारको अनुदानमा निर्माण हुने भएकाले यसको ठेक्का प्रक्रिया पनि जापान सरकारकै संयोजनमा हुनेछ।

जाइकाको खण्डमा नै पर्ने पिप्लेदेखि डालाबेसीसम्मको २.३ किलोमिटर सडकखण्डको ठेक्का भने विभागले छुट्टै निर्माण कम्पनीमार्फत गराउने तयारी गरेको छ । हालसम्म उक्त खण्डको ठेक्का भइसकेको र केही हप्तामै सम्झौता प्रक्रिया औपचारिक रूपमा सम्पन्न हुने विभागले जनाएको छ।

यता सिन्धुलीको बर्खेखोलादेखि नेपालथोकसम्मको ५ किलोमिटर खण्डको सडक निर्माण कार्य खरीढुंगा–घिसिङ–क्षितिज जेभीले पाएको छ । यसका लागि भ्याटबाहेक ५५ करोड रुपैयाँमा असार दोस्रो सातामा ठेक्का सम्झौता भइसकेको छ।

यी सबै खण्ड राष्ट्रिय मापदण्डअनुसार दुई लेनको सडक हुनेछन् । यो राजमार्ग काठमाडौंलाई तराई र पूर्वी नेपालसँग जोड्ने वैकल्पिक मार्ग भएकाले यसको स्तरोन्नति यातायात, व्यापार र पर्यटन विकासका लागि महत्वपूर्ण मानिएको छ ।

धेरै घुम्ती, साँघुरा खण्ड र बिग्रिएको सतहका कारण यात्रु र सवारी चालकलाई सास्ती खेप्नुपर्ने अवस्थालाई अब नयाँ निर्माणले सुधार गर्ने अपेक्षा गरिएको छ। 
 

प्रकाशित मिति: १२:१९ बजे, सोमबार, साउन १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्