लकडाउनमा काठमाडौंको विभिन्न स्थानमा चोरी गर्ने ११ जना पक्राउ
काठमाडौं, वैशाख २९ : कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरीवृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ।
....
काठमाडौं, वैशाख २९ : कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरीवृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ।
लकडाउनको समयमा बौद्धबाट चोरीमा संलग्न दुई महिलासहित नौ पुरुषलाई पक्राउ गरी मुद्दा चलाएको वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए।
विभिन्न बन्द होटल, रेस्टुराँ, पसल तथा कोठामा चोरी हुन थालेको उजुरीपछि प्रहरीले आफ्नो क्षेत्रमा गस्ती बढाएको थियो। उनले भने, 'गस्ती बढाएसँगै लकडाउनको मौका छोपी चोरी गर्नेलाई पक्राउ गरी अनुसन्धनपश्चात् कानुनी कारवाही अघि बढाइएको छौँ। ती मध्ये कोही बालबालिकासमेत रहेका छन्। कोहीलाई सम्झाइबुझाइ गरेर परिवारको जिम्मामा पठाएका छौँ। कोहीलाई सुधारगृह पठाएका छौँ।'
प्रहरीले पसल चोरी गर्दै गर्दा गोरखा घर भई हाल काठमाडौं बौद्ध बस्ने आयुष थापा मगर तथा भोजपुर घर भई काभ्रे बस्ने सुरज मगरलाई पनि प्रहरी पक्राउ गरेको थियो।
त्यस्तै चार्जमा राखेको मोबाइल चोरी गर्दै गर्दा प्रहरीले दुई महिलालाई पक्राउ गरी मुद्दा दायर गरेको छ। यसरी पक्राउ पर्नेमा काठमाडौं सुकेधाराकी रेश्मा लामा र पर्सा घर भई काठमाडौं बस्दै आएकी निर्मला भनिने मिना लामा रहेका छन्।
चोरी मुद्दामा पक्राउपर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौं गोकर्णेश्वर बस्ने असल भुजेल र अभिषेक भुजेल, ओखलढुंगा घर भई काठमाडौं बस्ने ङिमा शेर्पा र धनबहादुर तामाङ, बूढानीलकण्ठका आयुष राई र सुमन लिम्बू रहेका प्रहरीले जनाएको छ।











