‘आगामी बजेटमा सहकारीलाई प्राथमिकता दिनुपर्छ’
काठमाडौं, वैशाख २९ : संघीय संसद्को अर्थ समितिले कोरोना भाइरस (कोभिड–१९)ले अर्थतन्त्रमा पारेको प्रभाव र आगामी आर्थिक वर्षको बजेटका प्राथमिकतालगाय....

काठमाडौं, वैशाख २९ : संघीय संसद्को अर्थ समितिले कोरोना भाइरस (कोभिड–१९)ले अर्थतन्त्रमा पारेको प्रभाव र आगामी आर्थिक वर्षको बजेटका प्राथमिकतालगायत विषयमा सहकारी क्षेत्रसँग छलफल गरेको छ।
छलफलमा सहकारी क्षेत्रका अगुवाले कोभिड–१९ का कारण सहकारी क्षेत्र प्रभावित बनेको भन्दै आगामी बजेटमा सहकारीलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले जनताको प्रत्यक्ष सहभागी भएको सहकारी क्षेत्रलाई बन्दाबन्दी (लकडाउन)ले प्रभाव पारेको भन्दै सहकारीलाई प्राथमिकतामा राख्दा राज्यलाई नै सहयोग पुग्ने बताए। उनले अब विदेशबाट फर्केर आउनेलाई सहकारीसँग जोडेर उत्पादनशील कार्यमा लगाउनेखालका कार्यक्रमलाई बजेटमा समेट्न आग्रह गरे।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले कोभिड–१९ का कारण सहकारी क्षेत्रमा देखिएको समस्यालाई सम्बोधन गर्नेखालको कार्यक्रम बजेटमा समेट्नुपर्ने बताए। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौडेलले छुट्टै वित्तीय सहकारी ऐन ल्याउन माग गरे। कृषि सहकारी संघका अध्यक्ष खेम पाठकले दूध र कृषि सामग्री बोक्ने गाडीलाई भन्सार छुटको व्यवस्था गर्नुपर्ने सुझाव दिए। तरकारी तथा फलफूल सघका अध्यक्ष विनोद पराजुलीले फलफूलको भण्डारणका लागि शीत भण्डारको आवश्यकता रहेको बताए।
केन्द्रीय दुग्ध सहकारी संघका कोषाध्यक्ष कृष्णप्रसाद सापकोटाले दूधबाट पाउडर बनाउने उद्योग पर्याप्त मात्रामा नहुँदा लकडाउनका बेला दूधको उपयोग गर्न समस्या भएको बताउँदै दैनिक ६ लाख लिटर दूध संकलन हुनुपर्नेमा अहिले तीन लाखमात्र भएको हुँदा दूधबाट पाउडर बनाउने उद्योग स्थापना गर्नुपर्नेमा जोड दिए। उनले भैँसी र गाईपालनका लागि छुट्टै पकेट क्षेत्र घोषणा गनुपर्ने समेत बताए।
समिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले कृषिमा मात्र आत्मनिर्भर हुन सके मुलुकको समृद्धिमा सहयोग पुग्ने बताए। उनले सहकारीको महत्व पहिलेभन्दा बढेको भन्दै सहकारीमार्फत कृषि कार्य गर्न सकिने बताए।
समितिका सभापति कृष्णप्रसाद दाहालले सहकारी क्षेत्रमा संकट नआउने गरी आगामी बजेटमा सरकारको ध्यान जाने बताए। उनले धेरै मानिसलाई परिचालन गर्न एकमात्र माध्यम सहकारी भएकाले यसको विकासमा सबै लाग्नुपर्ने आवश्यकता औल्याए।











