Kathmandu Press

‘कुलिङ पिरियड’ छानविन समितिले लियो एक दर्जनसँग बयान, प्रतिवेदनको तयारी 

कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार नेतृत्वको समितिले राजनीतिक दलका नेता एवम् कर्मचारी गरेर दर्जनभन्दा बढीसँग बयान लिएको छ।
‘कुलिङ पिरियड’ छानविन समितिले लियो एक दर्जनसँग बयान, प्रतिवेदनको तयारी 

काठमाडौं, साउन ८ : संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिले सम्बद्ध व्यक्तिहरुको बयान सकाएको छ। 

कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार नेतृत्वको समितिले राजनीतिक दलका नेता एवम् कर्मचारी गरेर दर्जनभन्दा बढीसँग बयान लिएको छ। समिति प्रतिनिधिसभाका असार २३ गते घोषणा भएको थियो। 

समितिले बयान सकाएर प्रतिवेदन लेख्ने तयारीमा जुटेको हो । परियार नेतृत्वको समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, समितिका सचिव सुरजकुमार दुरा, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारलगायतसँग बयान लिएको छ। 

कर्मचारीतर्फ सरकारका मुख्यसचिव एकनारायण अर्याल, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, सोही मन्त्रालयका सहसचिव मिरा आचार्य, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगाना र सहसचिव सुवास भट्टराईसँग बयान लिएको छ। 

समितिलाई काम सुरु गरेको दिनबाट २१ दिन समय तोकिएको थियो । समितिले बयान लिने क्रम करिव सकाएको जनाइएको छ । अब कागजात एकीकृत गरेर प्रतिवेदन लेख्ने तयारीमा समिति छ। 

समितिमा कांग्रेसका सुशीला थिङ, एमालेका ईश्वरी घर्ती र नारायण आचार्य, माओवादीका माधव सापकोटा, रास्वपाका गणेश पराजुली र राप्रपाका रोशन कार्की सदस्य छन्। 

प्रकाशित मिति: १४:१९ बजे, बिहीबार, साउन ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्