Kathmandu Press

पूर्वसांसद मञ्चले भन्यो- भारतले मिचाहा प्रवृत्ति देखायो

काठमाडौं, वैशाख २८ :  पूर्वसांसद मञ्च नेपालले विश्व कोरोना महामारीविरुद्ध जुटिरहेका बेला नेपालको लिपुलेकमा भारतद्वारा सडक बनाएर उद्घाटन गर्ने कार....

पूर्वसांसद मञ्चले भन्यो- भारतले मिचाहा प्रवृत्ति देखायो
फाइल

काठमाडौं, वैशाख २८ :  पूर्वसांसद मञ्च नेपालले विश्व कोरोना महामारीविरुद्ध जुटिरहेका बेला नेपालको लिपुलेकमा भारतद्वारा सडक बनाएर उद्घाटन गर्ने कार्यलाई मिचाहा प्रवृत्तिको संज्ञा दिएको छ। 

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आइतबार विज्ञप्ति जारी गरी भारतको उक्त कार्यको विरोध गर्दै नेपाली भूभाग यथाशीघ्र फिर्ता गर्न भारतसँग माग गरेका छन्।

सुगौली सन्धिकालीन आधिकारिक नक्साले नै लिपुलेक–कालापानीलगायत भूभाग नेपालको पुष्टि गरेको हुँदा यो पक्षलाई  गम्भीररुपमा हेक्का राख्न भारतीय पक्षलाई मञ्चले सुझाव दिएको छ।

वार्ताद्वारा विवादको तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने ठाउँमा वार्तालाई भारतीय पक्षले आलटाल गर्दै भारतीय पक्षले अर्धेलो थाप्ने काम गरिरहेको बताउँदै मञ्चले नक्सा सार्वजनिक प्रकरणपछि विवादलाई  टुङ्ग्याउन परराष्ट्र सचिवस्तरमा वार्ता गर्ने पत्राचार भएको विषयलाई किन बेवास्ता गरिएको भनी प्रश्न गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सन् १८१६ मा भएको ब्रिटिस भारत र नेपालबीचको सुगौली सन्धिमा महाकालीपारि मात्र भारत भन्ने प्रष्ट छ। जल विज्ञानको सर्वमान्य सिद्धान्त र वैज्ञानिक मापदण्डबमोजिम लिम्पियाधुराबाट निस्कने खोला नै काली नदी हो।’ 

अतिक्रमित सम्पूर्ण नेपाली भूभाग फिर्ताका लागि प्रधानमन्त्रीस्तरमा वार्ता गर्न सुझाव दिँदै मञ्चले समस्या समाधान गर्न मूर्त र प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ।

प्रकाशित मिति: १८:४८ बजे, आइतबार, वैशाख २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्