Kathmandu Press

उद्धारको पर्खाइमा अमेरिकामा रहेका नेपाली 

टेक्सस, वैशाख २८ : शैलेस गिरी नियमित औषधि सेवन गर्छन्। मधुमेह र रक्तचापका बिरामी ५१ वर्षीय उनले औषधि सेवन गर्न थालेको धेरै भयो। औषधि सेवन गर्ने मात्र ....

उद्धारको पर्खाइमा अमेरिकामा रहेका नेपाली 
फाइल

टेक्सस, वैशाख २८ : शैलेस गिरी नियमित औषधि सेवन गर्छन्। मधुमेह र रक्तचापका बिरामी ५१ वर्षीय उनले औषधि सेवन गर्न थालेको धेरै भयो। औषधि सेवन गर्ने मात्र नभएर गिरीले नियमित इन्सुलिन (सुई) पनि लिने गर्छन्। काठमाडौँको कोटेश्वरका गिरी अहिले अमेरिका छन्। मेरिल्याण्डको बाल्टिमोरमा रहेका छोरालाई भेट्न उनी झण्डै पाँच महिनाअघि यहाँ आएका थिए। 

नेपालबाट अमेरिका आउँदा नै उनले नेपाल फर्किने टिकट यही मे ९ को लिएका थिए। तर कोभिड–१९ को महामारीसँगै अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उनी फर्किन पाएनन्। घुम्न आएको देश अमेरिकादेखि आफ्नो जन्मभूमि नेपालसमेत लकडाउनको अवस्थामा रहँदा उनलाई कसरी नेपाल फर्किने भन्ने चिन्ताले सताएको छ। उनले साथमा ल्याएको औषधि सकिन थाल्यो र हाल ‘भ्रमण भिसा’ मा छन्। उनले स्वास्थ्य बीमासमेत नलिएकाले भविष्यमा आउन सक्ने समस्यालाई लिएर आफू निकै चिन्तित भएको बताए। 

अमेरिकामा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दो छ। स्वास्थ्यप्रति संवेदनशील रहँदै गिरी अहिले छोरा बसेको ठाउँबाट आफ्नो साथी भएको ठाउँ नर्थ क्यारोलिनामा बसेका छन्। नर्थ क्यारोलिना तुलनात्मकरुपमा मेरिल्याण्डभन्दा यो कोरोना सङ्क्रमणको दर केही कम देखिएको राज्य भएकाले त्यहाँ गएर एक जना साथीको घरमा बसेको गिरीले बताए।  लकडाउन खुल्ने र अन्तर्राष्ट्रिय उडानसमेत चाँडै नै हुने सम्भावना नदेखिएकाले नेपाल सरकारबाट उद्धारको पर्खाइमा आफू रहेको गिरीले बताए।

कोभिड–१९ को महामारीकाबीच रोजगारी गुमेपछि ४५ वर्षीया बबिना श्रेष्ठ पनि नेपाल जान चाहेकी छिन्। झण्डै १२ वर्षदेखि अमेरिकामा बस्दै आएककी बबिना बेरोजगार भएको लामो समय भएकाले नेपाल फर्किन चाहेको बताउँछिन्। उनी पछिल्लो पटक करिब ६ महिनाअघि नेपाल गएकी थिइन्। नियमित औषधिसमेत सेवन गर्दै आएकी बबिना चिकित्सकले ६ महिनापछि ‘फलोअप’ स्वास्थ्य जाँचका लागि आउनु भनेअनुरुप नै आफू नेपाल जानेगरी पहिला नै योजना बनाएर पछिल्लो पटक अमेरिका आएकी थिइन्। तर उनको योजना कोभिड–१९ ले असफल बनाइदिएको छ। उनी अहिले समस्यामा परेकी छिन्।

नियमित रोजगारी गुम्यो र अरुतिर काम खोज्दासमेत नपाएपछि आफू बस्दै आएको जर्जियाको एट्लान्टाबाट टेक्सस आफ्नो आफन्त कहाँ बस्दै आएको र नेपाल जाने पर्खाइमा रहेको उनले बताइन्। ‘‘यहाँ काम पनि छैन, कामबिना अमेरिकामा बस्न कति गाह्रो हुन्छ त्यसैले छिट्टै नेपाल जान पाए हुन्थ्यो’’, उनले भनिन्।  

भक्तपुरकी २८ वर्षीया पेशाले चिकित्सक स्वस्तिक प्रधानाङ्ग पनि अहिले भर्जिनियामा छिन्। नियमित उडान भएको भए उनी गत अप्रिल ३ मा नेपाल फर्किसकेकी हुन्थिन्। तर अहिले लकडाउनमा परेकी छिन्। आफ्नो पेशागत क्षेत्रसँग सम्बन्धित परीक्षाका लागि उनी ६ महिनाअघि अमेरिका आएकी थिइन्। तर उनी फर्कन नपाएपछि भिसा थपेर भर्जिनियामा मामाको घरमा बसेकी छिन्। उनले पनि जतिसक्दो चाँडो नेपाल जान पाए हुने बताउँछिन्। 

भक्तपुर मुटु तथा मधुमेह केन्द्रमा कार्यरत डा प्रधानाङ्गले भनिन्,‘‘तत्काल खुल्ने कुनै सम्भावना देखिँदैन, सरकारले केही गरेर भए पनि फर्कन चाहेका हामीलाई लगे हुने थियो।’ 

उता आयोवामा अध्ययनरत २१ वर्षीय आयाम श्रेष्ठ पनि जतिसक्दो चाँडो नेपाल जान चाहेका छन्। कलेजसमेत बन्द हुँदा श्रेष्ठले कुनै काम गर्न पाएका छैनन्। ‘काम पनि छैन, समस्या पनि बढ्दै गएको छ’ काठमाडौँका श्रेष्ठले भने,‘नेपाल जान पाए धेरै सजिलो हुने थियो फेरि सामान्य कहिले हुन्छ भन्ने यकिन नभएकाले साह्रै समस्या भयो।’

बुटवलका कुलबहादुर केसी पनि अमेरिकाबाट नेपाल फर्कन चाहेका छन्। ८२ वर्षकी आमालाई समेत अमेरिका घुमाउन लिएर आएका ५२ वर्षीय कुलबहादुरलाई अब यहाँ घुम्न मन छैन। बरु फर्कने समस्याले चिन्तित छन्। आफ्नो छोरीकोमा आएका उनी अन्य कुनै समस्या नभए पनि आमासमेत आत्तिएकाले जतिसक्दो चाँडो फर्कन पाए हुने थियो भन्छन्।

 “यसरी नेपाल फर्कन चाहनेहरुले समूह नै बनाएर छलफल, सम्बन्धित निकायमा संवाद र सामूहिक प्रयासको थालनी गर्नुभएको छ। हामीले नेपाल फर्किन चाहनेहरुलाई लैजान नेपाल सरकारसँग सामूहिक रुपमा आह्वान गरिरहेका छौँ” नेपाल जान चाहेनहरुको समूहका एक अभियन्ता शान्तराज बतासले भने।  नेपाल सरकारलाई कुनै आर्थिक भार नदिनेगरी आफूहरु नेपाल जान तयार रहेको र नेपाल जानेबित्तिकै सेल्फ क्वारेन्टाइनमा पनि बस्ने उनीहरुको भनाइ छ। 

नेपाल जान चाहनेहरुले अमेरिकास्थित, नेपाली राजदूतावास, गैरआवासीय नेपाली सङ्घदेखि प्रत्यक्ष-अप्रत्यक्ष रुपमा नेपालका मन्त्रीसँग संवाद गरिरहेका छन्। अमेरिकाबाट नेपाल जान चाहनेहरुका निम्ति नेपालबाट सहयोगी भूमिका खेल्नुभएका इन्जिनीयर शैलेन्द्र गुरागाईंले नेपाल सरकारले चाँडै आवश्यक पहल गर्नुपर्ने बताए। 

भ्रमण भिसामा अमेरिका पुगेका र छोटो अवधिका लागि त्यहाँ विभिन्न तालिममा पुगेकाहरु ब्ढी समस्यामा परेका छन्। गुरागाईंले भने,“उहाँहरुलाई नेपाल सरकारले जतिसक्दो छिटो लैजानुपर्छ। स्वास्थ्य संवेदनशीलतालाई हेरेर क्वारेन्टाइनमा पनि बस्न उहाँहरु तयार नै हुनुहुन्छ। नेपाल सरकारलाई आर्थिक भार नपर्ने गरी हवाई भाडा तिर्नेदेखि क्वारेन्टाइनका लागि होटलहरुको व्यवस्था गर्नेसम्मको काम गरिसकिएको छ।” 

औषधि उपचारको समस्यादेखि लिएर भिसाको म्याद सकिने समस्या, भिसाको म्याद बढाएर बस्दा आर्थिक भार थपिने जटिलता, रोजगार गुमेको अवस्था, नेपालबाट पनि आर्थिक सहयोग गर्न नसकिने अवस्थालगायतले गर्दा अमेरिकाबाट नेपाल फर्किने चाहना राख्नेहरु दिनदिनै बढ्दै गएको छ।  

नेपाल जान चाहनेहरुको तथ्याङ्क लिएर नेपाल सरकारसमक्ष छलफल गर्ने हेतुले गैरआवासीय नेपाली संघ अमेरिकाले नेपाल जान चाहनेहरुको लगत संकलन गरिरहेको छ। संघका वरिष्ठ उपाध्यक्ष डा अर्जुन बञ्जाडेले अप्रिल २४ देखि तथ्याङ्क संकलन शुरु गरी मे २ सम्मको तथ्यांक नेपालको परराष्ट्र मन्त्रालय, अमेरिकास्थित नेपाली दूतावास र एनआरएनए आइसिसीसमक्ष बुझाइएको बताए। उनका अनुसार यहाँबाट नेपाल जान चाहने ६४१ जनाले नाम दर्ता गरेका थिए। स‌ंघले नेपाल जान चाहनेहरुलाई आवश्यक व्यवस्था मिलाउन पहल गरिरहेको एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहले बताए।  साहले आवश्यक सहकार्यका लागि आफूहरु तयार रहेको बताए।  

अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले नेपाल जान चाहनेहरुको विषयमा छलफल भइरहेको बताए। डा कार्कीले नेपाल फर्किन चाहनेहरुको स्वास्थ्यदेखि लिएर हरेक पक्षबाट छलफल भइरहेको र यसका लागि दूतावास सकारात्मक रहेको बताए।

 राजदूत डा कार्कीले यो विषय नेपाल सरकारको निर्णयमा भरपर्ने भएकाले सरकारको निर्णयअनुरुप अघि बढ्नुपर्ने बताए।  उनले अमेरिकामा रहेका नेपालीलाई कुनै समस्या भए दूतावासमा सम्पर्क गर्न आग्रह पनि गरेका छन्। “अमेरिकामा समस्यामा परेका नेपालीप्रति हामी चिन्तित छौँ, हामीले के सक्छौँ सहयोग गर्नेछौँ”, उनले भने। रासस

प्रकाशित मिति: १८:०० बजे, आइतबार, वैशाख २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्