आगामी बजेटबारे अर्थमन्त्रीसँग ओली र प्रचण्डले गरे छलफल
काठमाडौं, वैशाख २८: प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आगामी बजेटमा के कस्ता विषय समेट्ने भन्ने बारे छ....

काठमाडौं, वैशाख २८: प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आगामी बजेटमा के कस्ता विषय समेट्ने भन्ने बारे छलफल भएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अर्थमन्त्री डा. युवराज खतिवडासहितको छलफलमा कोरोना महामारीको कारण सृजित समस्यालाई कसरी बजेटमार्फत सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको हो।
छलफलमा कोरोना महामारीको संकट समाधान र युवा स्वारोजगारका विषयमा मोटामोटी छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ। साथै, अध्यक्ष प्रचण्डले कोरोना पीडितको पक्षमा र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सुझाएका छन्।
त्यस्तै, अर्थमन्त्री खतिवडाले कोरोनाले सृजना समस्या समाधानको निम्ति स्वरोजगार स्थापना गर्ने गरी बजेट ल्याउन लागेको बताएका छन्। उनले संघ, प्रदेश र स्थानीय तहमासमेत समन्वय गरिने गरी बजेट आउने पनि बताए। छलफलका क्रममा उनले सरकारले राष्ट्रिय गौरवका आयोजना, स्रोत सुनिश्चित गरिने र लक्षित वर्गको हितमा हुनेगरी बजेट आउने बताएका छन्।
कोरोनाका कारण अर्थतन्त्रमा डामाडोलको स्थिति आएको समयमा बजेटले नयाँ रुप कसरी दिन सक्छ भन्ने आम चासो रहेको छ। कोरोनाले पारेको असरलाई न्यूनीकरण गर्दै सुदृढ अर्थतन्त्रका निम्ति योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने विज्ञहरुको सुझाव छ।











