उपत्यकामा अब राहतको सट्टा रोजगारी दिइने
काठमाडौं, वैशाख २८ : उपत्यका नगरपालिका फोरमले संघीय सरकारले जारी राखेको लकडाउनलाई पालना गर्दै अब राहतकाे सट्टा मजदुर र विपन्नलाई श्रम र रोजगारीसँग जोड....

काठमाडौं, वैशाख २८ : उपत्यका नगरपालिका फोरमले संघीय सरकारले जारी राखेको लकडाउनलाई पालना गर्दै अब राहतकाे सट्टा मजदुर र विपन्नलाई श्रम र रोजगारीसँग जोड्ने जनाएकाे छ।
उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमको बैठकले राहतको सट्टा श्रम र रोजगारी दिने निर्णय गरेको हो। ‘कोरोना भाइरसको यस विषयम परिस्थितिमा काठमाडौँ उपत्यकाभित्र रहेका कसैको पनि घरमा चुलो निम्भ नदिने र भोकै रहन नदिने व्यवस्था गर्दै सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउने निर्णय भएको छ,’ नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका मेयर बिद्यासुन्दर शाक्यले भने।
एनले पछिल्लो समय संघीय सरकारले लकडाउन केही खुकुलो बनाउने निर्णय गरेकोले अब पहिलेजस्तो राहत वितरणलाई निरन्तरता दिनु नपर्ने बताए। ‘उपत्यकावासी कसैको घरमा चुलो नै नबल्ने अवस्था रहेछ भने उनीहरुलाई सहयोग गर्न हामी तयार छौँ,’ उनले भने।
त्यस्तै, फोरमले उद्योग सञ्चालनका लागि सहजिकरण गर्ने निर्णय समेत गरेको छ। फोरमले उपत्यका आगमनलाई व्यवस्थित गर्न प्रस्थान विन्दुुमा कडाई गर्ने, पुग्नुपर्ने गन्तव्य स्थानका स्थानीय तहसँग पनि समन्वय गरेर मात्रै पठाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।
त्यसका लागि उपत्यका छिर्ने नाकामा आएपछि मात्रै सवारीलाई रोक्ने नभइ जहाँबाट आउन खोजेको हो त्यहि रोक्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ। अत्यावश्यक कामका लागि उपत्यका छिर्नुपर्ने बाध्यता भए अनुमति लिएर मात्रै छिर्ने व्यवस्था गर्न पनि अनुरोध गरेको छ।
फोरमको बैठकले आवत–जातवलाई कडाई गर्ने र निश्चित क्षेत्रभित्र दूरी कायम गर्दै आर्थिक गतिविधिलाई चलाय राख्ने निर्णय गरेको फोरमका सचिव एवं मध्यपुर ठिमीका मेयर मदनसुन्दर श्रेष्ठले बताए। उपत्यकालाई सुरक्षित राख्न बाहिरबाट प्रवेशमा कडाई गर्दै भित्रका गतिविधिलाई चलायमान बनाउने विषयमा सहजीकरण गरिने उनले बताए।











