Kathmandu Press

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा चोरी

जाजरकोट, वैशाख २८ : शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका वनहरुमा यार्सागुम्बा चोरी गर्ने समूह पुगेको छ। निकुञ्जले यस वर्ष यार्सागुम्बा संकलन....

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा चोरी
फाइल फोटो

जाजरकोट, वैशाख २८ : शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका वनहरुमा यार्सागुम्बा चोरी गर्ने समूह पुगेको छ। निकुञ्जले यस वर्ष यार्सागुम्बा संकलनमा रोक लगाएपछि यार्सापाइने पाटनहरुमा चोरको समूह पुगेको हो। पाटनमा चोरहरु देखिएसँगै स्थानीय त्रसित बनेका छन्।

कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै निकुञ्जले आधिकारिक निर्णय र सूचना जारी गर्दै यार्सागुम्बा संकलन गर्न रोक लगाएको थियो।

निकुञ्जको ‘कोर’ क्षेत्रमा पर्ने कुनासा पाटनमा जुम्लाका २४ जनाभन्दा धेरै मानिस यार्सा चोरी गर्न आएको पुग्मोका स्थानीय धावा लामाले जानकारी दिए। उनले भने,'हामी कोरोनाकै डरले सरकारको निर्णय मानेर घरमा बसेका छौँ तर जुम्लाका मान्छेले पाटनमा यार्सागुम्बा चोरी गरिरहेका छन्, यो न्यायसंगत भएन। तत्काल सुरक्षाकर्मी खटाइदिनुपर्ने भयो।'

यार्सागुम्बा चोरीभन्दा पनि जुम्लाका मानिस भागेर आएको र उनीहरु भारतबाट सिधै डोल्पाका पाटनमा पुगेको भन्ने सूचना आएकाले स्थानीय डराएको धावाले बताए। पुग्मो गाउँको उवा, आलु, गहुँ लगाउने कुनासामा यो वर्ष कोरोनाकै कारण डरले स्थानीयले जेठ २ गतेसम्म नजाने निर्णय गरेका छन्। एकातिर कोरोनाको डर अर्कोतिर चोरको डरले स्थानीय घर बाहिर निस्कन नसकेको धावाले बताए। 

यता निकुञ्जक प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले भने सुरक्षाकर्मी पुगिसकेकाले स्थानीयलाई त्रसित नहुन आग्रह गरेका छन्। पौडेलले भने, 'हामीले सबैतिर सुरक्षा खटाइरहेका छौँ, वनको संरक्षण गर्ने जिम्मा निकुञ्जको हो स्थानीयले पनि साथ दिनुहोस्।'

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा १७ मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका १० नाकामा सुरक्षाकर्मी र कर्मचारी परिचालन गर्ने भने पनि हालसम्म सबै क्षेत्रमा नपठाएको स्थानीयको आरोप छ। निकुञ्ज र मध्यवर्तीका जगदुल्ला नाका, त्रिपुरासुन्दरी नाका, धो नाका, सुम्दुहानाका, रिग्मो नाका, रह नाका र मुगुको डोल्फु नाका सिल गरी सुरक्षाकर्मी राख्ने भएको छ। 

निकुञ्ज र मध्यवर्ती क्षेत्रका पाटनहरुमा यार्सागुम्बा चोरी गर्न गए राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कानूनी कारवाही हुने संरक्षण अधिकृत पौडेलले बताए।

प्रकाशित मिति: ११:५४ बजे, आइतबार, वैशाख २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्