दश दिनपछि सञ्चालनमा आयो, भरतपुर कोभिड–१९ प्रयोगशाला
चितवन, वैशाख २८ : कोरोना भाइरसको परीक्षण गर्ने पिसीआर किट अभावसँगै काम रोकिएको भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको छ। स्वास....

चितवन, वैशाख २८ : कोरोना भाइरसको परीक्षण गर्ने पिसीआर किट अभावसँगै काम रोकिएको भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार किट उपलब्ध गराएपछि पुनः नियमित परीक्षण शुरू भएको हो।
कीटको अभावमा विगत १० दिनयता प्रयोगशाला सञ्चालनमा आउन सकेको थिएन। संकलित नमूना परीक्षणको लागि हेटौँडा र काठमाडौं पठाइँदै आएको थियो। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिलेको किटले एक हजार ३०० भन्दा बढीको नमूना परीक्षण गर्न सकिने छ।
एकैपटक यति धेरै किट पठाएको यो पहिलोपटक हो। गत चैत २४ गतेबाट परीक्षण शुरू गरेको प्रयोगशालाका लागि शुरूमा जम्मा ३८४ थान किट पठाएको थियो त्यसपछि बीचमा १०० थान किट पठाएकोमा दुई दिनमै सकिएपछि प्रयोगशाला बन्द भएको थियो।
यस प्रयोगशालामा दैनिक ४० जनाको हाराहारीमा पिसीआर परीक्षणका लागि नमूना संकलन हुने गरेको छ। विगतका दिनहरुजस्तै नमूना संकलन भएमा एक महिनालाई किट पुग्ने पौडेलले बताए। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले किट आएसँगै नमूना परीक्षणको समस्या हटेको बताए। यो प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालापछिको उत्कृष्ट मानिएको छ।











