अध्यक्षको विषयमा सार्वजनिक रूपमा नबोल्न र नलेख्न नेता–कार्यकर्तालाई नेकपा एसको निर्नेशन
भुसालले पार्टी अध्यक्ष नेपालमाथि विशेष अदालतमा दायर मुद्दाबारे पार्टीले प्रारम्भिक धारणा स्पष्ट पारिसकेको बताउँदै उक्त धारणासँग बाझ्ने गरी कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न पार्टीका नेताहरुको ध्यानाकर्षण गराएका हुन्।
काठमाडौं, असार १५ : नेकपा एकीकृत समाजवादी (एस) ले अध्यक्ष माधवकुमार नेपालका बिषयमा सार्वजनिक रूपमा नबोल्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन जारी गरेको छ।
आइतबार एसका महासचिव घनश्याम भुसालले उक्त निर्देशन जारी गरेका हुन्।
भुसालले पार्टी अध्यक्ष नेपालमाथि विशेष अदालतमा दायर मुद्दाबारे पार्टीले प्रारम्भिक धारणा स्पष्ट पारिसकेको बताउँदै उक्त धारणासँग बाझ्ने गरी कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न पार्टीका नेताहरुको ध्यानाकर्षण गराएका हुन्।
‘पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख्न पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ,’ निर्देशनमा भनिएको छ, ‘पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख्न र कुनै पनि बहानामा सार्वजनिक वाद –प्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गर्दछ।’
नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले ‘मरेको सिनो काँधमा हालेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमा गएर पार्टी पुनर्गठन गर्नुपर्ने प्रस्ताव गरेपछि पार्टीमा तरंग उत्पन्न भएको छ। सोही सन्दर्भमा महासचिव भुसालले निर्देशन जारी गरेका हुन्।