दुई वर्षभित्र धानमा आत्मनिर्भर हुने कृषिमन्त्रीको दाबी
‘धानमा आत्मनिर्भर हुनका लागि राज्यले गर्नुपर्ने कुराको समस्या समाधानका लागि हामीले व्यवस्थापन गरेका छौँ, मलका कारणले रोपाइँ गर्न नसक्ने अवस्थाको अन्त्य हुन्छ,’ उनले भने।
ललितपुर, असार १५ : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानको हितमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटारमा आयोजित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८२ मा मन्तव्य राख्दै उनले स्रोत र साधनको सीमितताका बावजुद किसानका लागि राज्यले उचित ध्यान दिएर काम गर्ने बताए।
‘असारमा हिलोमा टेक्नै पर्ने संस्कार हो, जबसम्म हामी उत्पादनमा जोड दिदैनौँ, तबसम्म देश समृद्धिमा जाँदैन, चैते धानको जस्तो मिठो धानको चामल जस्तो स्वादिलो अरु हुँदैन, मैले उत्पादन गर्ने घैया धान र जुम्लाको मार्सी चामलको स्वाद उस्तै हो,’ उनले भने, ‘हामी दुई वर्षभित्र धानमा आत्मनिर्भर हुन्छौँ, किसानलाई अगाडि बढाउन नेपाल सरकारले प्रतिबद्धता जनाउने मात्रै होइन, आवश्यक काम पनि गर्छ।’
उनले आगामी वर्ष धान दिवस मनाउँदा उत्पादन वृद्धि भएको हुनेछ भन्दै किसानले व्यक्त गरेका विचारलाई आत्मसात गर्दै आगाडि बढ्ने प्रतिबद्धता जनाए।
‘धानमा आत्मनिर्भर हुनका लागि राज्यले गर्नुपर्ने कुराको समस्या समाधानका लागि हामीले व्यवस्थापन गरेका छौँ, मलका कारणले रोपाइँ गर्न नसक्ने अवस्थाको अन्त्य हुन्छ,’ उनले भने।
संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत विकास समितिका सभापति कुसुम थापाले देशका किसानलाई सबल बनाउँदै देशलाई खाद्यमा आत्मनिर्भर बनाउन संसद्को समितिमा नीतिगत छलफल चलाएर आवश्यक व्यवस्थाका लागि सरकारलाई आवश्यक निर्देश गर्ने उनको भनाई छ।












