Kathmandu Press

प्रदेश १ का आठ कोरोना संक्रमित निको भएर घर फर्के

विराटनगर, वैशाख २७ : प्रदेश १ को कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका आठ जना कोरोना सङ्क्रमित निको भएर घर फर्के....

प्रदेश १ का आठ कोरोना संक्रमित निको भएर घर फर्के
फाइल

विराटनगर, वैशाख २७ : प्रदेश १ को कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका आठ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन्। 

दुई पटक पिसीआर परीक्षणबाट रिपोर्ट नेगेटिभ आएपछि एक महिला र एक भारतीय नागरिकसहित आठ जनालाई डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले जानकारी दिइन्। 

केन्द्रमा उपचारमा रहेका ३१ मध्ये गत बुधबार छ र शुक्रबार ८ गरी १४ जना निको भइ घर फर्केका छन्। केन्द्रमा अहिले २० सङ्क्रमितको उपचार भइरहेको केन्द्रका प्रमुख चिकित्सक डा. दीपक सिग्देलले बताए।  

यसरी घर फर्कनेमा उदयपुर जिल्लाका २० वर्षीय आजाद आलम, सोही जिल्लाका १८ वर्षीय मोहम्मद इमरान अहमद, १८ वर्षीय परवेज आलम, ४१ वर्षीय मुख्तार मियाँ, ५५ वर्षीया रोशना खातुन, विराटनगर–१७ का  ७२ वर्षीय आइनो मियाँ, सोही स्थानका ६० वर्षीय इजरायल मियाँ र भारतीय नागरिक २४ वर्षीय मोहम्मद आदिल रहेको अस्पतालले नाम सार्वजनिक गरेको छ।

शुक्रबार घर फर्कनेमध्ये तीन जनाले रोजा (व्रत) बसेका छन्। उनीहरु १३० दिने धर्म प्रचारका लागि नेपालका विभिन्न मस्जिदमा पुग्नुका साथै उदयपुरको त्रियुगा नगरपालिका–१९ स्थित भुल्केको मस्जिदमा सङ्क्रमित भएका थिए। उनीहरुलाई स्वाब परीक्षणबाट कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख ८, ९ र १० गते उपचारका लागि केन्द्रमा ल्याइएको थियो। 

निको भएर घर फर्केकामध्ये सात जनालाई विराटनगर–१५ स्थित रानी मर्कज मस्जिदमा १४ दिन क्वारेन्टाइन राखिएपछि स्वाब परीक्षण गरिने अस्पतालका मेसु डा मिश्राले जानकारी दिइन्। 

यस्तै, एक महिलालाई उदयपुरको होम क्वारेन्टाइनमा जनप्रतिनिधि र चिकित्सकको निगरानीमा राख्ने व्यवस्था गरिएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले पूर्व सङ्क्रमितलाई बिदाइ गर्दै सरकारको अबको रणनीति भनेको तीन ‘टी’ अन्तर्गत ट्र्याकिङ, टेष्टिङ र ट्रिटमेन्ट रहेको जानकारी दिए।

उनले मन्त्रालयअन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा सुरेश मेहताको संयोजकत्वमा एक कमिटी गठन गरी  प्रदेशका सबै स्थानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा होम क्वारेन्टाइन व्यवस्था गरी अनुगमनको व्यवस्था मिलाइएको जानकारी दिए। 
    
अस्पतालका मेसु डा मिश्राले अस्पतालमा उपचारमा रहेका सङ्क्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरुले अगाडिदेखि प्रयोग गरिरहेको उच्च रक्तचाप, मधुमेह बिरामीलाई औषधि निरन्तरता दिनुका साथै साधारण औषधि प्रयोग गरिएको बताइन्। केन्द्रका उपचारार्थ रहेका १७ जनाको आगामी हप्ता स्वाब परीक्षण गर्ने जनाइएको छ। रासस

प्रकाशित मिति: ०९:३७ बजे, शनिबार, वैशाख २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्