कांग्रेसको पार्टी कार्यालय विस्तारका लागि १९ आना जग्गा र घर खरिद
कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने भन्दै कार्यालय अगाडिपट्टी रहेको एक रोपनी तीन आना तीन पैसा (१९ आना) जग्गा र सोही जग्गामा बनेको एउटा तीन तले घर खरिद गरेकाे हाे ।
काठमाडौं, असार १३ : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय विस्तारका लागि १९ आना जग्गा र एउटा घर खरिद गर्ने निर्णय गरेको छ।
हाल केन्द्रीय कार्यालय सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने भन्दै कार्यालय अगाडिपट्टी रहेको एक रोपनी तीन आना तीन पैसा (१९ आना) जग्गा र सोही जग्गामा बनेको एउटा तीन तले घर खरिद गर्ने निर्णय गरिएको हो।
उक्त घर र जग्गा ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको छ ।
शुक्रबार महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा उक्त घर जग्गा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी ५० लाख रूपैयाँ बैनासहित सम्झौता गरिएको कांग्रेसले जनाएको छ।
जग्गाधनीसँग १ वर्षभित्र पास गर्ने सम्झौता भएको छ। घर जग्गा खरिदका लागि लाग्ने १३ करोड रूपैयाँ पार्टीको विभिन्न तहको लेवि एवं शुभेच्छुकहरूको सहयोग मार्फत सबैको अपनत्व हुने गरी चुक्ता गरिने बताइएको छ।
