चितवनमा प्रहरी र स्थानीयवासीबीच झडप, तीन प्रहरी घाइते
चितवन , वैशाख २७ : पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ।
राप्ती नगरपालिका&ndas....

चितवन , वैशाख २७ : पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ।
राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि गएराति हवाईफायर गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्राप्त गोप्य सूचनाका आधारमा गाँजा बरामद गरी ल्याउने क्रममा चौकीडाँडामा जम्मा भइ बसेका स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो।
झडपका क्रममा प्रहरीले प्रयोग गरेको रत्ननगर नगरपालिकाको बा १२ च २७१ र इलाका प्रहरी कार्यालय भण्डाराको बा १ झ ७४६५ नम्बरको गाडी तोडफोड भएपछि प्रहरीले हवाईफायर गरेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए। सो क्रममा दुवै गाडीमा क्षति पुगेको छ ।
प्रहरीलाई अवरोध गरेको भन्दै चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीयवासी २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चरास घलान र ३५ वर्षीय धनबहादुर घलान रहेका छन्। झडपको क्रममा तीन प्रहरीसमेत घाइते भएका छन्।
घाइते हुनेमा प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली रहेको प्रहरीले जनाएको छ। यादवको अवस्था मध्यम भए पनि अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। रासस











